fbpx




काठमाडौं, असोज ३१, नेपालनीति – नेकपा माओवादी (केन्द्र)ले सरकारले चुनाव सार्ने तयारी गरेको भन्दै सरकारबाट पछि हट्ने निर्णय हाललाई स्थगित भएको बताएको छ ।

माओवादीका तर्फबाट सरकारमा सहभागी भएका गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा मंगलबार यस्तो जानकारी गराएका हुन् ।

सरकारबाट हट्ने निर्णयको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगबाट प्राप्त सूचनाअनुसार निर्वाचन सार्ने तयारी भएकाले अहिले सरकारबाट हट्ने निर्णय स्थगित गरिएको बताए ।

‘मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउनेबारे पार्टीले प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट लेखिएको पत्रको ड्राफ्ट तयार हुँदै गर्दा निर्वाचन सार्ने तयारी हुँदैछ भन्ने निर्वाचन आयोगबाट हामीले जानकारी पायौं,’ गृहमन्त्री शर्माले बताए ।

‘अहिले हामी निर्वाचन गराउनका लागि सरकारमा सहभागी भएका हौं । त्यसैले हामीले हाम्रो निर्णयमा केही परिवर्तन गरेका छौं । यस्तो सूचना पाएपछि हामीले अहिले निर्णय स्थगित गरेका छौं ।’ माओवादी केन्द्रले प्रधानमन्त्रीले निर्वाचन सार्ने तयारी गरेको दाबी पनि गरेको छ ।

‘निर्वाचन सार्ने प्रपण्च भएकाले सरकारबाट बाहिरिने निर्णयबाट पछि हटियो,’ शर्माले बताए । ‘निर्वाचन आयोगमार्फत आएको सूचना हो । सरकारबाट हट्ने निर्णयमा हस्ताक्षर हुने तयारी हुँदै गर्दा निर्वाचन सार्ने सूचना प्राप्त भएपछि निर्वाचन गर्ने सर्तमा हामीलाई विना विभागीय बनाउँछौं भनिएको थियो । तर हामी सरकारमा रहेर निर्वाचन सम्पन्न गराउन चाहन्छौं,’ पत्रकारले राखेको जिज्ञासामा गृहमन्त्री शर्माले भने । ‘हामी सरकारबाट बाहिरिन तयार छौं । निर्णयमा पुगेर अन्तिम पत्र तयार हुँदै गर्दा निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भएकाले राजनीतिक मान्यताका आधारमा हामी सरकारबाट बाहिरिन तयार भएनौं,’ उनले बताए ।

तपाईंको प्रतिकृयाहरू