fbpx




काठमाडौं, कात्तिक १ (नेपालनीति) -नेपाल र जोर्डनबीच श्रम सम्झौता भएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुर र उनका समकक्षी जोर्डनका श्रममन्त्री डाक्टर अली अल गेजावीबीच जोर्डनको श्रम मन्त्रालयमा बुधबार सम्झौता भएको हो ।

श्रम सम्झौता कार्यक्रममा बोल्दै जोर्डनका श्रममन्त्री डाक्टर गेजावीले दुई देशबीच श्रम सम्झौता भएकोमा खुशी व्यक्त गरे । उनले सम्झौताले नेपाल र जोर्डनबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास पनि व्यक्त गरे । त्यसैगरी सम्झौता कार्यक्रममा नेपालका श्रममन्त्री मन्सुरले नेपाल र जोर्डनबीच सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै जोर्डनमा नेपाली कामदारको हक हित र सेवा सुविधाको प्रत्याभूति भएको बताए ।
सम्झौताका कार्यक्रममा दुवै पक्षले सम्झौताको अक्षरसः कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उक्त समारोहमा जोर्डन तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो । केही साताअघि नेपालनीतिलाई अन्तर्वार्ता दिने क्रममा श्रममन्त्री मन्सुरले जोर्डनसँग चाँडै नै श्रम सम्झौता हुने घोषणा गरेका थिए ।

जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली महिला कामदारको उच्च माग रहेको छ । नेपाल सरकारले लामो समयदेखि जोर्डनसँग श्रम सम्झौता गर्न गरिरहेको प्रयास श्रममन्त्री मन्सुरको सक्रियतामा सफल भएको छ । श्रम मन्त्रालयले जोर्डनसँगको श्रम सम्झौताले नेपाली कामदारको कानुनी आधार निकै नै बलियो भएको प्रतिक्रिया दिएको छ । श्रम सम्झौतासँगै जोर्डन नेपाली कामदारका लागि अब बलियो गन्तव्य भएको पनि मन्त्रालयले जनाएको छ । बुधबार भएको सम्झौतामा नेपाली कामदारका लागि कार्यघण्टा, बिमा, अधिकार, आपूर्ति र प्रक्रियालगायतका विषय रहेको बताइएको छ । जोर्डनमा झण्डै पाँच हजार नेपाली कार्यरत रहेको बताइन्छ ।

श्रममन्त्री फरमुल्लाह मन्सुरसँग नेपालनीतिले लिएको अन्तर्वार्ता पढ्नु क्लिक गर्नुहोस् :

 

तपाईंको प्रतिकृयाहरू