fbpx




काठमाडौं, कात्तिक २ (नेपालनीति) – नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनाव बहिष्कार गर्न निर्देशन दिएको छ ।

महासचिव नेत्रविक्रम चन्दले रोल्पाको थबाङमा आयोजित कार्यक्रममा दुई तहको चुनाव बहिष्कार गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘कठपुतली सरकारले गराउने दुवै तहका चुनावको सशक्त बहिष्कार गर्ने गरी तयार रहन महासचिव विप्लवले निर्देशन दिनुभएको छ,’ पार्टीका एक क्षेत्रीय ब्युरो सदस्यले भने ।

गत असारमा सम्पन्न स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका थबाङका कतिपय कार्यकर्तालाई ‘कारबाही’ गरेको स्मरण गराउँदै चन्दले विगतको जस्तो भूल नदोहोर्‍याउन कार्यकर्तालाई आग्रह गरेका थिए ।

यस्तै उक्त पार्टीको जिल्ला नेतृत्व पनि पुनर्गठन गरिएको छ । चन्दको उपस्थितिमा पार्टीको जिल्ला सेक्रेटरीमा युवा स्वयंसेवक समितिका जिल्ला इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ लाई नियुक्त गरिएको छ । उनी एक वर्षअघि माओवादी केन्द्रको केन्द्रीय सदस्य परित्याग गरेर नेकपा प्रवेश गरेका थिए । 

कुनै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने सन्तोष केन्द्रीय समिति सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन् । यसअघि रोल्पा सचिव रहेका दलबहादुर खत्री ‘जागृति’ लाई जिल्ला इन्चार्जमा बढुवा गरिएको स्रोतले जनाएको छ । 

तपाईंको प्रतिकृयाहरू