fbpx




काठमाडौं, कात्तिक ६ (नेपालनीति) – मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो चरणमा प्रमुख दलका नेताले वागी उमेदवारी दर्ता गराएका छन् ।  एमाले र माओवादी केन्द्रबीच बनेको कम्युनिष्ट गठबन्धनमा कांग्रेस गठबन्धनमा भन्दा बढी वागी देखिएको छ ।

रामेछाप, मनाङ, दोलखा, जाजरको, ओखलढुंगा, बाग्लुङ, बझाङ लगायतका जिल्लामा कम्युनिष्ट गठबन्धनविपरीत एमाले र माओवादी केन्द्रका उमेदवारले उमेदवारी दर्ता गराएका छन् ।

रामेछापमा गठबन्धनका उमेदवार अर्थात् माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठका विरुद्ध माओवादी केन्द्रकै लक्ष्मी गुरुङले उमेदवारी दर्ता गराएकी छिन् । त्यसैगरी रामेछापमै प्रदेशसभा (क)मा एमालेका शान्तिप्रसाद पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेलले वागी उमेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेकपा एमालेमा भर्खरै प्रवेश गरेका गुन्डा नाइके राजीव गुरूङ उर्फ दिपक मनाङेले मनाङमा एमालेकै उमेदवारविरुद्ध वागी उमेदवारी दर्ता गराएका छन् । एमालेका खण्डा लामा गुरुङ विरुद्ध मनाङेले उमेदवारी दिएका हुन् ।

दोलखामा एमालेले आफूलाई धोका दिएको भन्दै एमाले नेता लालसिँह केसीले नेकपा मालेबाट उमेदवारी दिएका छन् । उनले एमाले परित्याग गरी मालेबाट उमेदवारी दिएका हुन् ।

आफूमाथि बारम्बार अपमान भएको उनको भनाई छ । केसी एमाले दोलखामा प्रभावशाली नेताका रुपमा परिचित छन् । जाजरकोटमा कम्युनिष्ट गठबन्धनका नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्द विक्रम शाहले वागी उमेदवारी दर्ता गराएका छन् ।

एमालेको प्रभाव रहेको क्षेत्रमा माओवादी केन्द्रलाई उमेदवार बनाएको भन्दै शाहले वागी उमेदवारी दिएको बताएका छन् ।

मुगुमा पनि माओवादी केन्द्रका नेताले वागी उमेदवारी दर्ता गराएका छन् । गठबन्धनप्रति असन्तुष्टि जनाउँदै सुरबहादुर बुढाले उमेदवारी दर्ताका गराएका हुन् । मुगका तीनवटै सिट एमालेको भागमा  परेको भए पनि माओवादी केन्द्रका नेताले असन्तुष्टि जनाउँदै वागी उमेदवारी दिएका हुन् ।  मुगुमा प्रदेशसभामा पनि माओवादी केन्द्रले उमेदवारी दिएको छ । माओवादी केन्द्रका सन्तोषकुमार मल्ल र मंगलबहादुर शाहीले उमेदवारी दिएका छन् ।

मुगुमा एमालेले प्रतिनिधिसभामा गोपाल बम, प्रदेशसभामा दानसिंह परियार र चन्द्रबहादुर शाहीलाई उमेदवार बनाएको छ । हुम्लामा पनि गठबन्धनभित्र देखिएको विवादले माओवादी केन्द्रका छक्कबहादुर लामाले प्रतिनिधिसभा निर्वाचनका लागि वागी उमेदवारी दर्ता गराएका छन् । प्रदेशसभामा पनि माओवादी केन्द्रका लालकेश जैसीले एमालेविरुद्ध वागी उमेदवारी दिएका छन् ।  बझाङमा एमालेबाट वागी उमेदवार परेको छ ।

एमालेको तर्फबाट गोपालबहादुर खड्काले प्रतिनिधि सभा र शेरबहादुर बोहोराले प्रदेश सभा निर्वाचन क्षेत्र नं (क) को लागि बागी उमेदवारी दिएका छन् ।  पूर्वी रुकुममा पनि माओवादी केन्द्रका तेजेन्द्र खाम मगर र पुणिराज घर्ती मगरले वागी उमेदवारी दर्ता गराएका छन् ।

ओखलढुंगामा कांग्रेस जिल्ला सभापति प्रदीप सुनुवारविरुद्ध तरुण दल अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले वागी उमेदवारी दर्ता गराएका छन् ।

तपाईंको प्रतिकृयाहरू