fbpx




नाइजर, कात्तिक ७ (बिबिसी)– उत्तरपश्चिमी नाइजेरियास्थित एउटा विश्वविद्यालयले आफ्नो मातहतका क्याम्पसहरुमा सर्पदंशका घटना बढ्न थालेपछि उक्त समस्यासँग जुझ्न सर्पलाई वशमा पार्ने सपेराहरु राख्न थालेको छ ।

गत साता मात्रै सर्पले टोक्दा उमारु मुसा यारअडुआ विश्वविद्यालयमा अध्ययनरत अर्थशास्त्रकी एकजना विद्यार्थी जैनब उमरको मृत्यु भएको थियो । उनी अर्थशास्त्रको अन्तिम वर्षकी विद्यार्थी थिइन् । विश्विद्यालयका एक जना डिन सुलेमान कंकाराले पछिल्लो सर्पदंशको घटना हुनुअघि पनि क्याम्पसहरुमा सपेराहरु राखिएको बताए ।

सपेराहरुले सर्पलाई वशमा पार्ने चलन दक्षिण एसियाली मुलुक र अफ्रिकाका केही भागमा अझैपनि रहेको छ । सर्पले टोकेपछि विश्वविद्यालयको क्लिनिकमा उपचार गराइरहेकी छात्रा उमरलाई उनका भाइ र साथीले त्यहाँबाट लगेका थिए ।

सपेराहरुले बिन बजाउने गर्छन् र सर्पहरु तिनीहरुको निकै नजिक आएर प्रतिक्रिया जनाउँछन् । आश्चर्यलाग्दो कुरा के हो भने सपेराहरुले त्यसरी बिन बजाउँदा गोमन सर्पले पनि उनीहरुलाई आक्रमण गर्दैनन् ।

नाइजेरियामा सपेराहरुले चटक देखाउने बेला नाङ्गो हातले गोमन सर्प समाइदिन्छन् र कहिलेकाहीं त्यस्ता चटक हेर्नेको निकै भीड लाग्ने गर्दछ । उत्तरी नाइजेरियामा सपेराहरुले चटकलाई मनोरञ्जनको एउटा माध्यमको रुपमा लिइन्छ ।

तपाईंको प्रतिकृयाहरू