fbpx




दोहा, कात्तिक ९ (बिबिसी)–कतारले श्रम सम्बन्धी कानुनमा व्यापक सुधार गर्ने र न्यूनतम ज्यालादर निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ ।

सन् २०२२ मा विश्वकप फुटबल खेलको आयोजना गर्न लागेको कतारमा श्रमिकको अधिकारको विषयलाई लिएर निरन्तर अन्तर्राष्ट्रिय निगरानी बढिरहेको छ । कतारको पछिल्लो घोषणा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को बैठक हुनुभन्दा एक दिन अघि आएको हो ।

आइएलओले कतारलाई आप्रवासी कामदारको शोषण अन्त्य गर्न चेतावनी दिएको थियो । कतारको पछिल्लो कदमको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले स्वागत गरेको छ । ‘कतारले गर्न लागेको परिवर्तन वास्तविक सुधारको सुरुआतको संकेत देखिएको र यसले आधुनिक दासत्वको प्रयोगलाई बन्द गर्न सहयोग पुग्नेछ,’ अन्तर्राष्ट्रिय ट्र्ेड युनियन महासंघका महासचिव शारन बर्रोको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बर्रोका अनुसार कतारमा रहेका आप्रवासीको हक अधिकारका लागि थुप्रै काम गर्न बाँकी रहेकाले यस विषयमा कुराकानी गर्नका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले कतारका श्रममन्त्रीलाई छलफलका लागि बोलाएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय आइएलओले आप्रवासी कामदारका अधिकारका सम्बन्धमा प्रगती विवरण पेश गर्न कतारलाई नोभेम्बरसम्मको समयसीमा दिएको थियो । यदि कतारले समयसीमा भित्र विवरण नबुझाए अपवादका रुपमा आइएलओले गर्ने औपचारिक अनुसन्धान गर्ने चेतावनीसमेत दिएको थियो । आइएलओको कार्यकारी अंग विस्तारित बैठक अक्टोबर २६ देखि नोभेम्बर ९ सम्म हुँदै छ ।

कतारले डिसेम्बर २०१६ मा ‘कफाला’ भनिने परम्परागत कडा श्रम नियम अन्त्य गर्ने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका अनुसार प्रस्तावित सुधार अनुसार अब कतारमा कसैलाई भेदभाव नगरी सबै कामदारलाई न्यूनतम ज्याला तोकिने छ । त्यसैगरी कतार छोड्न चाहने कामदारलाई रोजगारदाताले रोक्न नपाउने व्यवस्था गरिने भएको छ । अर्को सुधारमा कतार सरकारले नै कामदारको परिचयपत्र जारी गर्ने भएको छ । केन्द्रीय निकायले नै करार अनुसारको काम भए–नभएको अनुगमन गर्ने व्यवस्था पनि अबको सुधार कार्यक्रममा कतारले उल्लेख गर्ने भएको छ । कतारले गर्ने अर्को सुधारमा कामदारको समिति गठन गर्दै गुनासो सम्बोधनको व्यवस्था गर्ने भएको छ । कतारले घोषणा गरेको नयाँ नियम कहिलेदेखि लागू हुने हो त्यो बारे भने प्रष्ट भइसकेको छैन । कतारमा १५ देखि २० लाखको हाराहारीमा आप्रवासी कामदार रहेका छन् । तीमध्ये अधिकांश कामदार विभिन्न एसियाली देशबाट आएका छन् र उनीहरुले निर्माण क्षेत्रमा काम गर्ने गरेका छन् । सन् २०१३ मा प्रकाशित एक प्रतिवेदनले सन् २०२२ को विश्वकप खेल आयोजनामा काम गर्ने करिब १२ सय कामदारको मृत्यु भएको जनाएको थियो । त्यसपछि त्यो संख्या अझै बढेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू