fbpx




रियाद, कात्तिक २० (बिबिसी) – साउदी अरबका राजकुमार सवार हेलिकप्टर यमनको सिमा नजिकै दुर्घटना हुँदा उनको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले बताएको छ ।

साउदीको आसिर प्रान्तका उप गभर्नरसमेत रहेका राजकुमार मन्सुर बिन मुक्रिन हेलिकप्टर दुर्घटना हुँदा अन्य कैयौं अधिकारीहरुसँगै यात्रा गरिरहेका थिए, राज्य सञ्चालित अल इखबारिया समाचार च्यानललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । हेलिकप्टर दुर्घटनाको कारण भने अझै थाहा नभइसकेको बताइएको छ । दुर्घटनाको एक दिन साउदी अरबले राजधानी रियादमा रहेको विमानस्थल नजिकै यमनबाट प्रहार भएको ब्यालेस्टिक क्षेप्यास्त्रलाई विफल बनाएको बताएको थियो । त्यसैगरी गत शनिबार मात्रै स्थापना भएको साउदी अरबको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले ११ जना राजकुमार र चार जना बहालवाला मन्त्रीसहित दर्जनौं नागरिकलाई भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको छ । यस कदमलाई युवराजा मोहम्मद बिन सलमानको सत्तारोहणसँग जोडेर पनि हेरिएको छ किनभने यस निकायको नेतृत्व युवराज सलमानले नै गरेका छन् ।

हेलिकप्टर दुर्घटनामा मारिएका राजकुमार मन्सोर बिन मक्रिन साउदी अरबका पूर्व युवराजका छोरा भएको बिबिसीले जनाएको छ । राजकुमार मन्सोरका पिता मक्रिन बिन अब्दुल अजिजलाई उनका सौतेनी भाइ राजा सलमान सन् २०१५ मा सत्तामा आएको केही महिनापछि शक्तिविहिन बनाएका थिए । हेलिकप्टरमा सहभागि रहेका अन्य अधिकारीको अवस्थाका बारेमा भने केही प्रष्ट पारिएको छैन । तर साउदी समाचार निकाय ओकाजले बताएअनुसार अपुष्ट रिपोर्टका अनुसार हेलिकप्टर दुर्घटनामा कोही पनि जीवित रहेका छैनन् । राजकुमारसहितको टोली त्यस क्षेत्रको हवाई निरीक्षणका लागि त्यहाँ रहेको पनि उक्त टेलिभिजनले बताएको छ ।

 

तपाईंको प्रतिकृयाहरू