fbpx




गीता गुरुङ

नेपाली राजनीतिको अत्यन्तै सम्भावना बोकेको नाम, गगन थापा । ६० र ७० को दशकमा नेपालको युवा राजनीतिमा सबैभन्दा बढि रुचाइएका र विश्वास गरिएका पात्रमा पर्छन्, उनी । उनलाई हेरेर र उनलाई आदर्श मानेर राजनीतिमा होमिने युवाको संख्या पनि उत्ति नै बढिरहेको छ । २०६४ सालमा काठमाडौं क्षेत्र नम्बर ४ की उम्मेदवार सुप्रभा घिमिरेले निर्वाचन जित्दा पनि त्यो भोट गगन थापाकै आएको थियो भन्ने प्रमाण २०७० सालको निर्वाचनमा बागी उम्मेदवारी दिएकी घिमिरको दुई सय भोट पनि नआउनुले प्रष्ट हुन्छ । २०६४ सालमा गगन यसै क्षेत्रको समानुपातिक सूचीमा रहेका थिए । त्यस चुनावताका सुप्रभा कम र गगन बढी हावी भएकै कारण माओवादी क्रेजको समयमा पनि कम्युनिस्ट गढ मानिने काठमाडौं चारमा नेपाली काँग्रेसले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सहजै जितेको थियो ।

प्रसंग बदलौं । २०६४ पछि २०७४ सम्मको १० वर्षे गगनका सभासद र रुपान्तरित सांसदको भूमिका कस्तो रह्यो भनेर । गगनमाथि जनताको अत्यन्तै धेरै अपेक्षा थियो र अहिले पनि छ भन्दा पंक्तिकारलाई व्यक्तिवादको आरोप लाग्नसक्छ । तर त्यस्ता आरोप भन्दा पनि वास्तविकता यही नै हो । गगनका १० वर्षे सभासद रुपी भूमिकामा उनले जनताले अपेक्षा गरेको अनुसार शतप्रतिशत दिन सके वा सकेनन् त्यो आफ्नै ठाउँमा होला तर उनले अन्य ६ सय सांसद्ले भन्दा चाहिं शतप्रतिशत नै दिए भन्दा अनुपयुक्त नहोला । समानुपातिक सांसद बाहेक प्रत्यक्ष सांसद बन्दा उनले निकटम प्रतिद्वन्दी भन्दा झण्डै १३ हजार मत ल्याएका थिए, २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा । त्यसपछिका चार वर्षमा उनले सांसदको भूमिकामा पूर्णतया न्याय गरेको अनुभूति सबै जनताले गरेका छन् । नेपाल सरकारको स्वास्थ्य मन्त्री रहँदा उनले गरेका सुधारका कार्यले उनकै पार्टी भित्रको परिवर्तन विरोधीले त जिब्रो टोकिरहेका बेला बाहिरबाट उनलाई आक्रमण हुनुलाई स्वभाविक रुपमा लिन सकिन्छ । अहिले गगनले ल्याएको सम्पूर्ण नेपाली जनतालाई स्वास्थ्य बिमा र स्वास्थ्य विधेयकजस्ता सुधारको काम कम होलान् तर हुँदै नहुनुभन्दा धेरै हो । २०७२ साल असोज महिनाको ३ गतेसम्म गगनले संविधान बनाउने आफ्नो जिम्मेवारीलाई गहनताका साथ बहन गरे भन्ने टेलिभिजका स्क्रिनमा उनले पटक पटक संसद् भवनको भित्रको माइक समाएर सभामुख महोदय भनेर बोलेका दृश्यले पनि स्पष्ट हुन्छ । संसद्को कृषि तथा जलस्रोत समितिको सभापतिको हैसियतमा पनि उनले न्याय गरेकै हुन् ।
निर्वाचन क्षेत्रमा देशैभरका सांसद मध्ये सबैभन्दा बढी बजेट ल्याएको गगन थापाले पटक पटक दावी गरिरहेका छन् । युवाले चाह्यो भने त्यो सम्भव रहेछ भन्ने पनि उनको अभिव्यक्तिबाट नै प्रष्ट हुन्छ । उनको निर्वाचन क्षेत्रमा रहेका केही बाटामा करोडौं बजेटका योजना परेको निश्चित छ, तर ठेकेदारको लापरबाही र टेन्डर प्रथाले बाटो निर्माण हुन नसकेको सत्यतालाई हत्केलाले छेकेर जसरी भ्रम फैलाइएको छ, त्यो गोयबल्स् शैलीको प्रचार मात्रै भएको स्पष्ट छ । नेताले दबाब दिनुपर्छ पक्कै हो । सायद गगन थापा राष्ट्रिय मुद्दामा मात्रै बढी केन्द्रीत भए, निरीक्षण गर्न पनि जरुरी देखिएको छ ।

जनताले परिवर्तन चाहेका छन् । परिवर्तन पार्टीका घोषणापत्रले हैन व्यक्तिले गर्ने हो । नेपाली काँग्रेसमा त्यस्ता व्यक्तिमा गगन थापा जस्ता एकाध होलान् र अन्य पार्टीमा पनि उनीजस्तै सीमित मानिस होलान् । हामी विकास खोज्ने, परिवर्तन र समुन्नति चाहाने तर गगन थापा जस्ता आशा गरिएका व्यक्तिलाई जरै बाट सिध्याउन खोज्ने । त्यसैले अबको राजनीतिका लागि घरघरमा गगन जन्मिनुपर्छ । गगनलाई सिध्याउन प्रोपोगान्डा रच्नु अन्य अमुक पार्टीको हारको मानसिकता हो । यसो भन्दै गर्दा, गगन थापालाई देवत्वकरण गर्न खोजिएका हैन । उनीमा पनि केही समस्या पक्कै छन् र उनले त्यो सुधार गर्न जरुरी पनि छ । कुनैपनि कार्यक्रममा गगन थापा समयमा नै पुग्दैनन् भन्ने जनताको गुनासोलाई उनले सम्बोधन गर्न जरुरी छ । त्यसैगरी गगनले काखी च्यापेका नेपाली काँग्रेसका स्थानीय नेताका बारेमा पनि उनले सोच्ने बेला आएको छ । गगन थापाका नाममा कतिपय स्थानीय नेताले गलत कार्य गरिरहेका छन् भन्ने केही दृष्टान्तका बारेमा पनि उनले जानकारी लिन पक्कै जरुरी छ ।
(गुरुङ नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य हुन् ।)

तपाईंको प्रतिकृयाहरू