fbpx




अनिस खत्री

गुल्मी, २१ कात्तिक (नेपालनीति)-चुनावी रौनक बढ्दै जाँदा मतदाता र सर्वसाधरणमा चुनाव के हुन्छ, कस्ले जित्ला र कसका अजेण्डा राम्रा छन् भन्ने अड्कल बाजी शुरु हुन थालेको छ ।

प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन मिति आउन एक महिना मात्रै बाँकी छ । सबै उम्मेदवार आफ्ना अजेण्डा लिएर मतदाता माझ पुगिरहेका छन् । २ प्रतिनिधि सभा क्षेत्र रहेको गुल्मीमा क्षेत्र नं. २ को तुलनामा १ मा एमाले केन्द्रिय सचिव प्रदिप ज्ञवाली र कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारबीचको प्रतिस्पर्धा रोचक देखिएको छ ।

गुल्मीको अहिलेको क्षेत्र नं. १ पहिलेको क्षेत्र नं. २ का केही गाविस समेत मिलेर बनेको क्षेत्र हो । स्थानीय तहमा पाएको मतलाई आधार मान्ने हो भने वामपन्थी गठबन्धनका उम्मेदवार प्रदिप ज्ञवाली प्रतिनिधि सभामा १२ हजार भन्दा बढी मतले कांग्रेस उम्मेदवार चन्द्र भण्डारी भन्दा अगाडी छन् । प्रदेश सभाका उम्मेदवार सुदर्शन बलाल झण्डै ६ हजार मतले अघि देखिन्छन् ।

२०५६ मा निर्वाचित भएपछि आफ्नो क्षेत्रमा मात्र नभएर गुल्मीकै विकासका लागि धेरै दीर्घकालीन योजना अघि बढाएको मतदाताको बुझाइ छ । ती योजनाहरुमा अहिले पनि निरन्तर काम भइरहेको छ । तानसेन रिडी तम्घास सडक कालोपत्रे, बलेटक्सारको झण्डै ४ करोडको रेसुंगा खानेपानी योजना, रिडीको संस्कृत माविको भौतिक पूर्वाधार निर्माणका लागि २ करोड, शान्तिपुरको चन्द्रकोट क्याम्पसको भवन निर्माणका लागि ४ करोड, तम्घासको रेसुंगा बहुमुखी क्याम्पसमा इलाईब्रेरी निर्माणमा ३ करोड, रुरु र रेसुंगासहित जिल्लाका पर्यटकीय स्थलको विकासका लागि गठन गरेको रुरु रेसुंगा पर्यटन विकास समिति, रिडी रुद्रवेणी वामीटक्सार सडक कालोपत्रे, रिडी खज्र्याङ खनदह सडक स्तरोन्नती, गौडाकोट मजुवा शान्तिपुर सडक र कालीगण्डकी करिडोर निर्माणमा ज्ञवालीको महत्वपूर्ण भुमिका रहेको पूर्व सांसद कमलराज श्रेष्ठले बताए । उनका अनुसार ज्ञवाली कालीगण्डकी करिडोरका परिकल्पनाकार नै हुन् ।

‘ज्ञवालीले जिल्लाको विकासका लागि अहिलेसम्म गरेका काम निकै महत्वपूर्ण र दिर्घकालिन विकासका रणनीतिक महत्वका छन्,’ उनले भने । ‘टुक्रे हजारका योजना बाँड्नेले करोडका दीर्घकालीन योजना ल्याउनेलाई केही गरेनन् भन्ने अधिकार नै छैन,’ श्रेष्ठले बताए । ज्ञवालीको पहलमा जिल्लामा १०/१५ देखि ५० लाख रुपैंयासम्मका योजनाको संख्या १ सय बढी आएको उनले बताए ।

जिल्लाको समृद्धिका लागि तीव्र गतिमा निर्माणइरहेको कालीगण्डकी करिडोर गुल्मी खण्डबाट निर्माण गर्न पनि ज्ञवालीले महत्वपूर्ण भुमिका निर्वाह गरेको खड्गकोटका मतदाता रामजी ढकालले बताए । ज्ञवाली अहिले पुरानो क्षेत्र नं. १ का वार्डहरुमा घरदैलो गर्दै मत मागिरहेका छन् ।

‘म केन्द्रिय राजनीतिमा अलि बढी व्यस्त भएँ तर पनि जिल्लाको विकासका लागि महत्वपूर्ण योगदान गरेकै छु’ ज्ञवालीले भने । ‘अब बिजयी भएपछि जिल्लाका ठुला र गाउँ/नगर जोड्ने कच्ची सडक कालोपत्रे, ठुला लिफ्टिङ प्रविधिका खानेपानी योजना, हरेक गाउँपालिकामा १५ बेडका अस्पताल, विद्यालयको भौतिक पूर्वाधार निर्माण र विद्यार्थीका लागि निःशुल्क स्कुल बस संचालन गर्ने योजना नै मेरा मुख्य प्रतिबद्धता हुन्, ‘ ज्ञवालीले बताए । यी बाहेक पक्की पुल निर्माण, गौंडाकोट जुभुङ शान्तिपुर हुँदै पूर्तिघाट जोड्ने सडकको कालोपत्रे, विपन्न समुदाय बोटे माझीका बस्तीमा घर निर्माण र सबै खरका घरमा जस्ता पाताले छाउने पनि ज्ञवालीका प्रतिबद्धता रहेको एमालेले जनाएको छ । प्रतिनिधि सभामा बिजयी भएपछि ज्ञवाली अर्थ वा गृह मन्त्री बन्ने निश्चित जस्तै रहेकाले पनि अहिले यस क्षेत्रका मतदाताले ज्ञवालीप्रति धेरै आशा गरेको कालीगण्डकी गाउँपालिका २ अर्वेनीका मतदाता ६० वर्षिय मतदाता जिवनारायण न्यौपानेले बताए ।

‘यो क्षेत्रका मतदाताले धेरै अन्तरमा ज्ञवालीलाई नै जिताउँदै छन्’ उनले भने । ज्ञवाली यस क्षेत्रमा भूमिगत कालमा धेरै समय बिताएकाले पनि धेरैले चिनेको र सबैका घरघरमा पुगेका उम्मेदवार भएको उनले बताए । ज्ञवाली र प्रदेश सभामा गठबन्धनका उम्मेदवार सुदर्शन बलाल पनि यो क्षेत्रका मतदातासँग परिचित र विकासप्रेमी उम्मेदवार हुन् । उनीपनि ज्ञवालीसँगै एकसाता देखि घरदैलोमा छन् ।

यता २०७० मा निर्वाचित भएपछि भण्डारीले सालझण्डी खज्र्याङ सडक निर्माण, दर्जनौं पक्की पुल सहित जिल्लाका योजनाहरु आफ्नो पहलमै निर्माणाधिन रहेको भन्दै त्यसकै आधारमा घरदैलो गरेर मत माग्दै छन् । उनले दीर्घकालीन योजनाका लागि केही गर्न नसकेको भएपनि साना दर्जन बढी योजनाका काम अघि बढाएका छन् । केन्द्रिय नेता भएपनि ज्ञवालीसँगको प्रतिस्पर्धामा उनी चर्चामा छन् । आफ्नै मतदाताबीच काम नगर्ने तर सरकारले गरेको कामलाई समेत ‘फेसबुकबाट मैले गरें भनेर प्रचार’ गर्ने प्रवृतिले उनी बढी आलोचित छन् । सरकारले २०६४ देखि नै शुरु गरेको सिमान्तकृत समुदायका लागि आवास निर्माण कार्यक्रमलाई अहिले चुनावको मुखैमा आएर भण्डारीले मैले बोटे माझिका लागि ४ सय घर उपहार दिएको प्रचार गरेपछि उनी बढी आलोचित भएको र फेसबुके नेता हुन थालेको गुल्मी दरबार गाउँपालिका ६ का मतदाता हरी अर्यालले बताए ।

‘जितेपछि केही गर्नुहुन्छ कि भन्ने आशा लागेको थियो’ उनले भने, ‘तर काम भन्दा बढी हल्ला गर्नुभयो, हामी विकासमा झन पछाडी पर्यौं ।’ अहिले कुरा र हल्ला भन्दा बढी काम गर्ने र विकास ल्याउने नेताकै पछि लाग्ने उनले बताए । घरदैलो अभियान अन्तर्गत मत माग्दै हंसरा पुगेका भण्डारीले आफुले ५ वर्षमा धेरै योजना अघि सारेको र तिनै योजना पुरा हुँदा गुल्मी नमुना बन्ने भएकाले त्यो जिम्मेवारी पुरा गर्न आफुलाई मत दिन आग्रह गरेका छन् । ‘मेरो आग्रह फेरी एक पटक अवसर दिनुस् भन्ने हो,’ उनले भने, ‘मैले गुल्मीको मुहार नै फेर्ने गरी योजनाहरु अघि सारेको छु ।’

ज्ञवाली र भण्डारीकै कारण चर्चामा रहेको यस क्षेत्रको प्रदेश क्षेत्र नं. १ मा एमाले माओवादी गठबन्धनले स्थानीय तहमा प्राप्त गरेको मत १८ हजार २ सय छ । नेपाली कांग्रेसले १२ हजार ३ सय ल्याएको छ । प्रदेशमा गठबन्धनबाट माओवादी केन्द्रका सुदर्शन बलाल र कांग्रेसबाट पृथबहादुर फौदार प्रतिस्पर्धामा छन् ।

त्यस्तै क्षेत्र नं. २ मा गठबबन्धनले १९ हजार ८ सय ल्याएको थियो। नेपाली कांग्रेसको १२ हजार १ सय ५० मत थियो । यो प्रदेशमा गठबन्धनबाट एमालेका कमल श्रेष्ठ र कांग्रेसका धनेन्द्र कार्की प्रतिस्पर्धामा छन् । दुवै प्रदेशको मतमा कांग्रेस भन्दा गठबन्धन १३ हजार ५ सय मतले अगाडी देखिन्छ ।

तपाईंको प्रतिकृयाहरू