fbpx




 

म्याग्दी, पुस १७( नेपालनीति) – म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँ जोड्ने निर्माणाधीन झोलुङ्गे पुल निर्माणले तीव्र गति लिएको छ ।

तीन वर्ष अगाडि शिलान्यास गरिएको ३६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हुने भएको छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका झोलुङ्गे पुल सम्पर्क व्यक्तिसमेत रहेका असिस्टेन्ट सवइन्जिनियर बालकृष्ण पौडेलले जानकारी ििदएका छन् ।

उनका अनुसार यो पुल सम्पन्न भएमा अहिलेसम्मको तथ्याङ्कअनुसार नेपालकै लामो झोलुङ्गे पुल हुने बताइएको छ । बेग र बाँदुक गाउँको बीचमा रहेको बेगखोलाको खोचमाथि निर्माण हुन लागेको सो पुल १४८ मिटरभन्दा बढी अग्लो हुने प्राविधिको अनुमान छ । जिल्ला समन्वय समितिको रु तीन करोड ३२ लाखको लागतमा निर्माण गर्न लागेको सो पुलको करिब ८५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको उनले बताए ।

पुल निर्माणका लागि जिल्ला समन्वय समिति र स्थानीयवासीको रु ३६ लाख बराबरको लगानीमा दुवैतर्फबाट पहुँचमार्ग विस्तार गरिएको थियो । एक महिनाभित्रमा सम्पन्न हुने र यसबाट बाँदुकदेखि बेग गाउँ वारपारका लागि लाग्ने करिब तीन घण्टाको यात्रा ३० मिनेटमै छोटिनेछ ।

पुल निर्माणपश्चात् भुरुङ तातोपानी, दोवा, बाँदुक, बेग हुँदै धौलागिरि हुँदै पर्यटकीय रुइसे पुग्ने पदमार्गको समेत परिकल्पना गरिनुका साथै रघुगंगा गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयवासी दलप्रसाद तिलिजाले बताए । बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोला र तिप्याङबाट यस झोलुङ्गे पुलसम्म पुग्नका लागि सडक सञ्जालसमेत विस्तार भइसकेकाले मुस्ताङ जाने पर्यटकलाई समेत आकर्षित गर्ने र पर्यटक आगमन बढ्ने स्थानीयवासीको अपेक्षा छ ।

तपाईंको प्रतिकृयाहरू