fbpx




 

पथरी, मोरङ, पुस १८ (नेपालनीति) – मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गरेका छन् ।

आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उनले मौरी चराउँदै आएका छन् । तोरी नफुल्ने समयमा समेत उनले जंगलमा लगेर मौरी चराउने गरेका हुन् । रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर पाठकले मौरी पालन गर्दै आएका छन् ।

खडानन्द खनालका अनुसार चार बिगाहामा तोरी खेती गरेको र प्रत्येक वर्ष मौरी चराउन ल्याउन आग्रह गर्ने गरेको उनी बताउँछन् । पहिले तोरीमा लाइ लाग्ने, किरा लाग्ने गरेको र परागसेचनको काम मौरीले नै गरेको हुनाले मौरीको घारै बोकेर तोरी खेतीमा ल्याएर चराउने गरेको पाठकले बताए । मौरी ल्याएपछि आफूले तोरीमा विगत चार–पाँच वर्षदेखि कुनै पनि कीटनाशक औषधिको प्रयोग नगरेको र बिगाहामा २० मनदेखि २२ मनसम्म तोरी उब्जनी हुने गरेकोसमेत खनालको भनाइ छ ।

२०६० सालदेखि मौरीपालनमा लागेका यमनाथ शुरुका दिनमा चार घारबाट मौरीपालन शुरु गरेका थिए । अहिले २०० घारसम्म पाल्न सफल भएका छन् । उनले एक घार बराबर ५० हजारदेखि ६० हजारसम्म मौरी हुने गरेका छन् ।

वार्षिकरुपमा २०० घारबाट पाँच हजार केजीअर्थात् (५० क्विन्टल) मह वार्षिक उत्पादन हुन्छ भने रु ३० लाख बराबरको आम्दानी हुने गरेको समेत पाठकको भनाइ छ । पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर उत्पादन गरेको महप्रति केजी रु ६०० को दरले बिक्री वितरण गर्ने गरेको उनले बताए ।

उनले उत्पादन गरेको महको बजार मोरङ, झापा, सुनसरी, ताप्लेजुङ, पाँचथर, बिर्तामोड, धरानमा बिक्रीका लागी पठाउने गरिएको पाठकको भनाइ छ । उनी मात्र नभई थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि उत्तरी मोरङका कृषक मौरीमा लगानी गर्न हौसिएका छन् ।

मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ–भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी जस्ता ठाउँमा व्यवसायीकरुपमा मौरी पालन हुँदै आएको छ ।

मौरीपालनले एकहजार घार मौरीबाट वार्षिक रु २० लाख अम्दानी भएको व्यावसायिक मौरीपालक कृषकको भनाइ छ । मोरङमा महको मागसँगै यसको उत्पादनमा पनि वृद्धि भइरहेको छ । व्यवसायको शुरुको वर्ष नै एक घार मौरीबाट वार्षिक रु २० लाख आम्दानी गर्न सकिने मेलिफेरा मौरीपालन सहकारी संस्थाका संस्थापक सदस्य सूर्य कटुवालले बताए ।

तपाईंको प्रतिकृयाहरू