fbpx




इस्लामाबाद, पुस १८ (एजेन्सी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई झुटो र छलकपट गरको आरोप लगाएपछि इस्लामाबादले पाकिस्तानका लागि अमेरिकी राजदूतलाई बोलाएको छ ।

ट्रम्पले अत्यन्तै क्रुद्ध रूपमा पाकिस्तानले अमेरिकासँग झुट बोलिरहेको र छलकपट गरेको ट्विट गरेपछि त्यसको विरुद्धमा इस्लामाबादले अमेरिकी राजदूत डेभिड हालेलाई डाकेको बताइएको छ । हालेलाई सोमबार पाकिस्तानी विदेश मन्त्रालयले ट्रम्पको ट्विटका बारेमा सोधखोज गर्न बोलाएको सञ्चारमाध्यमले जनाएका छन् । इस्लामाबादमा रहेको अमेरिकी दूतावासका प्रवक्ताले बैठक भएको बारेमा पुष्टि गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । पाकिस्तानप्रति अत्यन्तै कडास्वरुपमा प्रस्तुत भएका अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकाले विगत १५ वर्षको अवधिमा मूर्खतापूर्ण रूपमा पाकिस्तानलाई ३३ विलियन डलर सहायताका रकम उपलब्ध गराएको र त्यसको बदलामा पाकिस्तानले अमेरिकालाई भुट र छलकपट दिएर पुरस्किृत गरेको आरोप लगाएका थिए ।

‘उनीहरुले आतंकवादीलाई सुरक्षित स्वर्ग प्रदान गरे तर हामी भने थोरै सहयोगमा अफ्गानिस्तानमा खोजी रह्यौं । अब धेरै सकिँदैन,’ ट्रम्पले ट्विट गरेका थिए । पाकिस्तानप्रतिको ट्रम्पको यस्तो रुखो वचनलाई उसको परम्परागत शत्रु भारत र उसको छिमेकी अफ्गानिस्तनाले भने स्वागत गरेको बताइएको छ । तर पाकिस्तानलाई लामो समयदेखिको सहयोग गरिरहेको चीनले भने उसले आतंकवादलाई सहयोग गरेको विषयलाई प्रतिरक्षा गर्दै आइरहेको छ ।

अमेरिकी राष्ट्रपतिको पछिल्लो ट्विटका बारेमा मंगलबार आयोजना हुने मन्त्रिपरिषद्को बैठकलाई पाकिस्तानका प्रधानमन्त्री साहिद खाकन अब्बासीले अध्यक्षता गर्ने बताइएको छ । यसैबीच बुधबार अमेरिकाको पछिल्लो अभिव्यक्तिलाई लिएर बुधबार पाकिस्तानका उच्च सैन्य अधिकारी र नागरिक समाजका प्रतिनिधिबीच पनि छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । पाकिस्तानका विदेशमन्त्री ख्वाजा असिफले भने अमेरिकी राजदूतलाई बोलाइनु राजनीतिक ध्यान तान्न गरिने कार्य नभई अति पछिको प्रतिक्रिया भएको बताए ।

अमेरिका र उसको अप्ठेरो गठबन्धन मित्र पाकिस्तानबीचको सम्बन्ध अफगान तालिबानको गठबन्धन हक्कानी नेटवर्कको लडाकुलाई इस्लामाबादले सहयोग गरिरहेको आरोपसँगै लामो समयदेखि समस्या उत्पन्न भएको छ । अमेरिकाले अफगान तालिबानका कमान्डरहरु पाकिस्तानी माटोमा बसिरहेको आरोपसमेत लगाउने गरेको छ । सन् २०१६ मा तत्कालीन तालिबान नेता मुल्लाह मन्सुर अमेरिकाले पाकिस्तानी भूमिमा गरेको ड्रोन आक्रमणमा मारिएका थिए र सन् २०११ मा अलकायदाका प्रमुख ओसामा बिन लादेन पनि पाकिस्तानी भूमिमा नै भेटिएपछि अमेरिकी फौजले पाकिस्तानको अब्बोट्टाबादमा मारेका थिए ।

वासिङ्टनले पाकिस्तानलाई दिँदै आएको सहायता रकम कटौती गर्ने संकेत दिएको छ र अफ्गानिस्तान–पाकिस्तान सीमामा आक्रमणको गतिविधि सञ्चालन गरिरहेको हक्कानी नेटवर्कलाई यदि इस्लामाबादले सहयोग गर्न रोकेन वा पूर्ण समर्थन गर्न रोकेन भने उसलाई सजाय दिने बारेका अन्य कदम चाल्ने बताएको छ । पाकिस्तानले भने सन् २००१ देखि अमेरिकाले भन्दा आफूले हजारौंको संख्यामा आफ्नो क्षति भएको भन्दै अमेरिकाले आफूले केही गरेन भन्नु आपत्तिजनक भएको बताउँदै आएको छ ।

पाकिस्तानका विदेशमन्त्री असिफले ट्रम्पको पछिल्लो ट्विट राजनीतिक स्टन्ट मात्रै भएको र अफ्गानिस्तानमा जहाँ अफगान तालिबानले भूभागमाथि कब्जा जमाइरहेको र ठूला आक्रमण गरिरहेका कारण उसको असफलताको निराशापन मात्रै भएको प्रतिक्रिया दिएका छन् ।
‘ट्रम्पले आफ्नो आन्तरिक समस्याका लागि हामी र इरानविरुद्ध ट्विट गरेका हुन्,’ जियो टेलिभिजनसँग विदेशमन्त्री आसिफले सोमबार बताए ।

तपाईंको प्रतिकृयाहरू