fbpx




तेहरान, पुस २० (एजेन्सी)–
इरानी नोबेल पुरस्कार विजेता सिरिन इबादीले इरानका नागरिकलाई प्रदर्शन जारी राख्न आग्रह गरेकी छिन् ।

उनले इरानी जनतालाई सन् २००९ मा भएको सुधारवादी आन्दोलन पछि इस्लामिक शासकका विरुद्धमा चुनौती दिइरहको देशव्यापी प्रदर्शनमा नागरिक अवज्ञा गर्दै प्रेससँग संलग्न हुन आग्रह गरेकी हुन् । साउदी नेतृत्वको पान–अरब दैनिक अस्अर्क अल–अवासटले इरानका सबैभन्दा प्रख्यात मानवअधिकारसम्बन्धी कानुन व्यवसायीलाई उद्धृत गर्दै बताएअनुसार नोबेल पुरस्कार विजेता इबादीले इरानी नागरिक सडकमै बसिरहन पर्ने र संविधानले उनीहरुलाई प्रदर्शन गर्ने अधिकार दिएको बताएका छन् ।

इरानको इस्लामिक नेतृत्वका विरुद्धमा ६ दिनदेखि जारी आन्दोलनका क्रममा २१ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी इरानको शक्तिशाली रिभोलुस्नरी गार्ड्सले बुधबार देशको तीनवटा प्रान्तमा जारी अशान्ति नियन्त्रण गर्नका लागि फौज परिचालन गरेको छ । मूल्यवृद्धि र आर्थिक संकटका विरुद्धमा गत बिहीबारबाट युवा तथा श्रमिक समूहले सुरु गरेकोे आन्दोलन देशको शासन सत्तामा रहेका र सम्भ्रान्त परिवारले फाइदा लिइरहेको भन्दै त्यसतर्फ बढेको थियो । प्रदर्शन विशेषगरी इरानका सर्वोच्च नेता आयोतोल्लाह खामेनीविरुद्धमा लक्षित हुँदै गएको बताइएको छ ।

सरकार विरोधी प्रदर्शनले निरन्तरता पाएपछि इरानको दोस्रो ठूलो सहर मास्सादसहित विभिन्न सहरमा बिहीबार सरकार समर्थकले पनि ¥यालीको आयोजना गरेका छन् । सरकार समर्थकको ¥यालीमा राज्य सञ्चालित टेलिभिजनले सर्वोच्च नेता आयातोल्लाह खामेनीको पोस्टर र सरकार विरोधीलाई मृत्यु लेखिएको ब्यानरसहित उपस्थित हजारौंलाई देखाएको छ ।

स्पष्ट नेतृत्व बिना नै स्वतस्फूर्त रूपमा उत्रिएका सरकार विरोधी प्रदर्शनकारीले श्रमिक वर्ग रहेको क्षेत्र र साना सहरबाट सुरु गरेको प्रदर्शन सुरु गरेको भए पनि अहिले आएर यस आन्दोलनमा शिक्षित वर्ग र सन् २००९ मा भएको प्रदर्शनमा सहभागी रहेका अधिकारवादीहरु समेतले ऐक्यबद्धता जायर गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

लन्डन आधारित नोबेल पुरस्कार विजेता इबादीलाई सन् २००३ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनी इरानको वर्तमान नेतृत्वका विरुद्धमा देश निकाला गरिएका आलोचकमध्येका एक हुन् । उनले इरानी नागरिकलाई सरकारलाई पानी, ग्यास र बिजुलीको महसुल र करसमेत नतिर्न आग्रह गरेकी छिन् ।

उनले इरानी नागरिकलाई सरकारलाई आर्थिक दबाब दिनका लागि राज्यको बैंकमा रहेको आफ्नो पैसासमेत झिक्न आग्रह गरको बताइएको छ । जसका कारण सरकारले हिंसा मच्चाउन छोड्ने र प्रदर्शनकारीका माग पूरा गर्ने जिकिर उनले गरेकी छिन् ।
‘यदि सरकारले तपाईंलाई ३३ वर्षसम्म सुनेको छैन भने सरकारले अहिले तपाईंलाई भन्ने गरेको कुरा नमान्ने भूमिका देखाउने बेला आएको छ,’ लन्डन आधारित अस्अर्क अल–अवासटले अबादीलाई उद्धृत गर्दै जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू