fbpx




पेरिस, पुस २० (बिबिसी)– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले तथाकथित झुठा समाचार रोक्न नयाँ कानुन ल्याउने योजना घोषणा गरेका छन् ।

सरकारले निर्वाचनका बेला सामाजिक सञ्जालमा राखिने विषयवस्तुलाई कडा कानुन लगाउने राष्ट्रपति म्याक्रोंले बताएका छन् ।
पत्रकारहरूलाई सम्बोधन गर्दै उनले प्रायोजित रूपमा जथाभावी गरिने प्रचारप्रसारबाट उदार लोकतन्त्रको रक्षा गर्न त्यस्तो कदम अनिवार्य रहेको बताएका छन् । नयाँ कानुनले न्यायाधीशहरूलाई झुठा समाचार दिने वेबसाइटहरू बन्द गराउने र विदेशी सरकारको नियन्त्रण वा प्रभावमा रहेका टेलिभिजन सेवाहरूले अस्थिरता फैलाउन गरेको प्रयास रोक्ने अधिकार दिने उनले जानकारी दिएका छन् ।

 

म्याक्रोंले अघिल्लो वर्षको राष्ट्रपतीय चुनावका क्रममा रुसी सञ्चार माध्यमहरूले आफ्नाबारे गलत विवरणहरू फैलाएको आरोप पनि
लगाएका छन् । म्याक्रोंले युरोप र अमेरिकामा रहेको जनमतलाई तोडमोड गर्न मस्कोको भूमिका कस्तो थियो भनेर उनले यसअघि पनि सार्वजनिक रूपमा नै बोलिसकेका छन् ।

उनको यस भनाइसँगै विभिन्न संवादताताहरुका अनुसार उनले यस्तो घोषणा रुसलाई मध्यनजर गरेर गरेका हुन् भन्नेमा दुईमत छैन ।
नर्ववर्षको उपलक्ष्यमा एलिजे दरबारमा सञ्चारकर्मीहरुका लागि आयोजना भएको भोजमा बोल्दै राष्ट्रपति म्याक्रोंले यस्तो घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ ।

सम्बोधनकै क्रममा उनले केही हजार यूरो खर्च गरेर समाजिक सञ्जालमा व्यक्ति वा राजनीतिक समूहहरूलाई बदनाम गर्ने गरी प्रचार प्रसार गराउन सम्भव भएको भन्दै चिन्ता प्रकट गरे । सत्य र झुठबीचको रेखा धमिलो बनाउन योजनावद्ध प्रयास भइरहेको भन्दै उनले त्यसले उदार लोकतन्त्रमाथिको जनविश्वासलाई कमजोर तुल्याउने बताए ।

‘सामाजिक सञ्जालमा विश्वभरका सबै भाषामा हजारौं प्रोपोगान्डा अकाउन्ट फैलिइरहेको र राजनीतिक व्यक्तित्व, सामाजिक अनुहार र पत्रकारका विरुद्धमा झुठ बोल्न सक्रिय रहेका छन्,’ उनले बताए । यसको बदलामा उनले सामाजिक सञ्जालमा सत्यतथ्य विषयवस्तु देखाउनका लागि कडा कानुन लागू गर्न प्रस्ताव गरेको बताएका छन् । सामाजिक सञ्जालमा स्पोन्सर्ड समाचार सामाग्रीमा खर्च गर्न पाउनेबारे पनि सीमा तोक्ने म्याक्रोंले बताएका छन् ।

‘हामी झुठा समाचारबाट हाम्रो लोकतन्त्र बचाउनका लागि हाम्रो कानुनी व्यवस्थालाई विकास गर्नेछौं,’ समाचार एजेन्सी एएफपीले म्याक्रोंलाई उद्धृत गर्दै जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू