fbpx




 

कञ्चनपुर, पुस२१( नेपालनीति) कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदैआएकी एकजना शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरी पढाउँदै आएकी छन् ।

विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतकी शिक्षिका युगमाया शाहीले थोरै तलबमा विद्यालयमा पढाउँदै आएकी हुन् ।

सुकुम्बासी दलित बस्तीमा सञ्चालित विद्यालयमा अधिकांश अभिभावकको आर्थिक अवस्था दयनीय भई आन्तरिक स्रोत नभएपछि न्यून तलबमा शिक्षक राखिएको हो । विद्यालयको आन्तरिक स्रोत थोरै भएकाले थोरै तलबमा चित्त बुझाउनुपरेको शिक्षिका शाहीले बताएकी छन् ।

भारतमा मजदुरी गर्दै आएका बस्तीका बासिन्दाले केही रकम बचाइ चन्दा संकलन गरी विद्यालय सञ्चालन गर्दै आएका छन् । न्यून आयस्रोतका कारण कक्षा ५ सम्म पढाइ हुने नवदुर्गामा दुई जना अस्थायी दरबन्दीमा एकजना राहतमा र एकजना निजी गरी जम्मा चारजना शिक्षकशिक्षिकाबाट विद्यालय सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी अर्यालले बताएकी छन् ।

विद्यालय सञ्चालन रहेको १० कट्ठा जग्गासमेत राष्ट्रिय आवास कम्पनीको नाममा दर्ता रहेको शिक्षक अभिभावक संघ अध्यक्ष वीरे बुढाले बताए ।

नेपाल–भारत सीमादेखि करिब २०० मिटर भित्र रहेको नवदुर्गा आधारभूत विद्यालय गाउँलेहरुको पहलमा विसं २०५५ मा काठ र खरको टहरो निर्माण गरी सञ्चालनगरेका हुन् । त्यस विद्यालयलाई विसं २०६३ मा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले मान्यता दिएको हो ।

विद्यालयमा पर्याप्त कक्षाकोठा , तारबार , गतिलो शौचालय छैन, तर पनि सुकुम्बासी बस्तीका बालबालिकालाई साक्षर गराउन लागिपरेको समाजसेवी सोना मिजारले बताइन् ।

तपाईंको प्रतिकृयाहरू