fbpx




जाजरकोट, पुस २३ (नेपालनीति) – जाजरकोटमा एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् ।

स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए । ‘जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म नपुगेको , सिंहले बताए ।
औषधि र स्वास्थ्यकर्मी छिटो रोग प्रभावित क्षेत्रमा पठाउन माग गर्दै स्थानीयले बड्कुले स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई केहीबेर घेरेको डा। पवन शाक्यले बताए ।
स्वास्थ्य चौकी बड्कुलेबाट रोग प्रभावित क्षेत्र मजकोट पुग्न करिब पाँच घण्टा लाग्छ । अहिले स्वास्थ्य संस्थामा आफूमात्र भएको र आज मात्र १४५ जना बिरामीलाई स्वास्थ्य चौकीमा नै सामान्य जाँच गरेको सिंहले बताए ।
सो स्थान सदरमुकामभन्दा २३ कोस टाढा पर्छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले पाँचजनाको भाइरलका कारण मृत्यु भएको पुष्टि गरे । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालनका लागि सदरमुकामबाट औषधि झिकाएको बताए ।
रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षीय सतरुप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरवाँया टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीका पाँच दिनका छोरा, शान्तबहादुर शाहीका दुई महिनाका छोरा, मानबहादुर विकका पाँच महिनाका छोरा, कालो दमार्इंका सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षीया छोरी कविता नाथ र एक नाम नखुलेका बालकको मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका प्रमुख हरिबहादुर सिंहले बताए ।
ज्वरो र रुघाखोकीले ८०० भन्दा बढी गाउँले बिरामी परेका छन् । स्वास्थ्य चौकीमा दैनिक २०० भन्दा बढी भाइरलका बिरामी आउने गरेको उनले बताए ।

तपाईंको प्रतिकृयाहरू