fbpx




डोटी, पुस २३ नेपालनीति) – लामो समयसम्म वर्षा नहुँदा खानेपानीको मुहान समेत सुक्न थालेपछि जोरायल गाउँपालिका(४ बाँजिलेकवासीले पानी पारिदिन भन्दै भगवतीलाई बोको बली दिएका छन् ।
करिब ६५ घरधुरी रहेको बाँजिलेकमा सञ्चालित खानेपानीको योजनामा खडेरीका कारण पानी कम भएपछि चिन्तित स्थानीयवासीले पानी पारिदिने आशमा भगवतीको पूजासहित बोको बली दिएका हुन् ।
संकटका बेला भगवान सम्झिने परम्परागत विश्वास अनुसार बोका चढाएर मालिकामाई भगवतीको पूजाआजा गरिएको स्थानीयवासीले जनाएका छन् ।

पानी सुक्दै गएपछि गाउँबाट करिब एक घण्टाको दुरीमा रहेको मुहानबाट पानी बोकेर ल्याउनुपर्ने अवस्था आएको र वर्षा रोकिएको लामो समय भई गाउँमा खानेपानी र खेतिपातीका लागि समस्या देखीएकाले । परम्परागत विश्वास अनुसार गाउँमा सबैले भगवतीको पूजा गर्ने सल्लाह भएर पञ्चमीको तिथीमा पूजा गरिएको त्यहाँका बासिन्दाले बताएका छन् ।
विगतका वर्षहरुमा पनि सुख्खा मौसममा भगवती पूजा गर्ने गरिएको र पूजा गरिरहेकै बेलामा पानी पर्ने गरेकाले स्थानीयमा विश्वास कायम रहिआएको बुढापाकाहरुले बताएका छन् ।

पानी नपरेका कारण अहिले बालीनालीमा समस्या भइरहेको तथा अब फलफूलको फूल्ने बेला भएकाले फलफुलका लागि पनि सिचाइँ समस्या देखिने जिल्ला कृषि विकास कार्यालय डोटीका बरिष्ठ कृषि विकास अधिकृत तपेन्बहादुर शाहले बताए । उनले भने(‘गहुँबाली र अन्य बालीनालीमा हालसम्म शीत र पूरानो चिस्यानले काम गरेको थियो, अब तत्काल पानी परेन भने झनै समस्या हुने भएकाले स्थानीयवासीले पानी पर्ने आशमा भगवतीलाई बली दिएका छन् ।

तपाईंको प्रतिकृयाहरू