fbpx




बर्लिन, पुस २३ (बिबिसी)– जर्मन चान्सलर एन्जेला मर्केलले देशको राजनीतिक समस्या समाधान गर्न गठबन्धन सरकार बनाउने बारेमा आइतबार नयाँ चरणको वार्ता सुरु गर्ने भएकी छिन् ।

जर्मनीमा निर्वाचन भएको तीन महिनाभन्दा बढी समय भएपनि अझैसम्म सरकार बन्न सकेको छैन । नयाँ चरणको वार्ता पाँच आइतबारबाट पाँच दिनसम्म चल्ने बताइएको छ । वार्तामा मर्केलको क्रिश्चियन डेमाक्र्याट्स (सिडियू), उनको गठबन्धन क्रिश्चियन सोसियल यूनियन (सिएसयू) र सोसियल डेमोक्र्याट्सको सहभागिता हुने बताइएको छ । धैरैले स्थीर गठबन्धन बनाउनका लागि मर्केलको यो अन्तिम प्रयासका रूपमा हेरेको बिबिसीले जनाएको छ । मध्य वामपन्थी एसपिडीले चान्सलर मर्केलको मध्य दक्षिणपन्थी दलसँग मिलेर पछिल्लो १२ वर्षमा आठ वर्ष संयुक्त रूपमा सरकार सञ्चालन गरेको छ । तर सेप्टेम्बर महिनामा भएको निर्वाचनमा ऐतिहासिक पराजय भोगेपछि सोसियल डेमोक्र्याट्सका नेता मार्टिन स्कुल्ज प्रतिपक्षमा बस्न बाध्य भएका छन् ।

आइतबार गरिएको एउटा जनमत सर्वेक्षणका अनुसार प्रत्येक तीन मतदातामध्ये एकले आइतबार हुने वार्ता असफल हुने बताए पनि सर्वेक्षणमा सहभागी ५४ प्रतिशत मतदाताले भने ठूला पार्टीको विशाल गठबन्धन जर्मनीका लागि सकारात्मक हुने बताएका छन् । मर्केलले लिबरल एफडिपी र ग्रीन्स पार्टीसँग गठबन्धन बनाउन असफल भएपछि गत नोभेम्बर महिनादेखि एसपिडीमाथि दबाब सिर्जना भएको छ । अब चान्सलर मर्केलले एसपिडीका नेताहरुलाई मार्च वा अप्रिल महिनाबाट औपचारिक गठबन्धन वार्ता गर्नका लागि प्रर्याप्त साझा उद्देश्य भएको सहमति गराउन आवश्य रहन्छ ।

युरोपेली संघको गठबन्धनका राष्ट्र जस्तै फ्रान्सले जर्मनीलाई उक्त क्षेत्रको स्थायीत्वको एउटा खम्बाका रूपमा लिन्छन् र मर्केल यो चरणको वार्तामा सफल हुने विश्वास गरेका छन् । आप्रवासन, युरोप, कर र स्वास्थ्य सेवासम्बन्धी विषय जर्मनीमा विवादको विषय बन्दै गइरहेको छ ।
एसपिडीभित्र विशाल गठबन्धनमा पुनः सामेल हुनु भनेको पार्टीमा थप क्षति हुने डर छ । पार्टीको प्रख्यातीलाई लिएर गरिएको पछिल्लो जनमत सर्वेक्षण र मध्य वामपन्थी आलोचकहरुले एसपिडीले मर्केलसँग सहकार्य गर्न उसको दलको सिद्धान्त त्यागेको आरोप लगाउँदै आएका छन् ।
यसैगरी चान्सल मर्केलले पनि कन्जरभेटिभहरुबाट यस्तै आलोचना खेपिरहनु परेको छ । उनीहरुका अनुसार मर्केलले परम्परागत मूल्यलाई त्यागेर जर्मनीका मतदातालाई अति दक्षिणपन्थी अल्टरनेटिभ (एएफडी)तर्फ लगेको आरोप लगाउँदै आएका छन् । एएफडी जर्मनीको संघीय संसद्मा पहिलो पटक प्रतिनिधित्व गरिरहेको छ ।

तपाईंको प्रतिकृयाहरू