fbpx




(लुम्बिनी आवाज)    ऋषिमुनिहरूले प्रचलनमा ल्याएको योग पश्चिमा देशहरूमा पुगेर ‘योगा’को रूप धारण गरेपछि योगाले हिजोआज संसारभरि धूम मच्चाएको छ । सुन्दर अनुहार र आकर्षण शरीरका सुन्दरीहरूले योगालाई ग्ल्यामर्स बनाएर झनै चर्चामा ल्याएका छन् ।

भारतमा बाबा रामदेवको लहरले भारतीय सुन्दरीहरूलाई पनि योगाले निकै आकर्षित गर्‍यो। यसै लहरमा प्रियंका चोपडा, लारा दत्त, राखी सावन्त तथा शिल्पा सेट्टीलगायता बलिउड सुन्दरीहरू योगप्रेमी बन्न पुगे ।

अभिनेत्री शिल्पा सेट्टीले त दुई कदम अगाडि बढेर योगासनको डीभीडी नै तयार गरिन्। शिल्पा सेट्टीका आसनहरू निकै आकर्षित र ग्ल्यामर्स भए पनि उनको डीभीडीले पश्चिममा त्यति सफलता प्राप्त गर्न सकेन ।

योग शब्द संस्कृतिको ‘युज्’ धातुबाट बनेको हो । जसको शाब्दिक अर्थ हुन्छ, जोड्नु, मिलाउनु (फेरि मलमा मिल्नु) । संक्षेपमा आत्मालाई परमात्मासँग एकाकार गराउनु नै योग हो ।

पातञ्जली योग सत्रका अनुसार योगको उद्देश्य चित्तवृत्ति निरोध हो । (योग:चित्तवृत्तिनिरोध:।।२।। पातञ्जली योगसत्र) । अर्थात् चित्तको वृत्ति रोक्नु योग हो । योगको यस विराट् लक्ष्य प्राप्तिका लागि प्राचीन भारतीय ऋषिमुनीहरूले विभिन्न विधिहरू उल्लेख गरेका छन् । जस्तै षट्कर्म, अष्टांग योग आदि ।

योगासनको अभ्यास तथा सम्यक् व्यायामले शरीरमा स्फूर्ति आउँछ, कार्य गर्ने शक्ति बढ्छ, दु:ख सहन गर्ने क्षमता बढ्छ, शरीरमा थुप्रिएको विषाक्त पदार्थहरू हट्छ, शरीरको मन्द अग्नि उद्दीप्त हुन्छ ।

योगासनले शरीरका समर्पण प्रणाली तथा अंगहरूलाई क्रियाशील बनाउँछ, अंगप्रत्यांगमा रक्तसञ्चार सुचारु गर्छ। शरीरका कोषकोषहरूमा ताजा पोषण पु:याउन सहयोग गर्छ, तनमनका रोगहरू हटाउँछ र मानिसको शरीरभित्र सुषुप्त रूपमा रहेको ऊर्जालाई सक्रिय बनाउछ ।

योगका बारेमा थुप्रै वैज्ञानिक अध्ययन अनुसन्धानहरू भएका छन्। योगासनबाट शरीरका अंगप्रत्यंगमा हलुकापना, स्फूर्ति, ताजापन, अनुहारमा कान्ति, शरीरमा सुन्दरता, लचिलोपना र आकर्षकको प्राप्ति हुने, शरीरका सम्पूर्ण प्रणालीहरू सन्तुलित र स्वस्थ ढंगबाट कार्य गर्ने हुनाले योगासन स्वास्थ्य रक्षाका लागि मात्र नभएर रोगहरू निवारणका लागि पनि उपयुक्त भएको वैज्ञानिक अध्ययनले समेत पुष्टि गरेको छ ।

उमेर ढल्केर रोगले च्यापेपछि होइन कि किशोरावस्थादेखि नै शरीरलाई आकर्षक र निरोगी बनाउने उद्देश्यका साथ यसरी योगालाई उपनाउनु निकै सकारात्मक कुरा हो । त्यसैले किशोरकिशोरी तथा युवायुवतीलाई योगाप्रति आकर्षित गर्न ताराको ग्ल्यामर्स योगा समयको माग हो ।

योगमय जीवनशैली २१औं शताब्दीको दौडधुप र तनावपूर्ण वातावरणका लागि निकै उपयोगी जीवन पद्धति हो । त्यसैले स्वास्थ्य रक्षा र आरोग्य प्राप्तिका लागि प्राचीन वैदिक वैज्ञानिकहरूले आविष्कार गरेको योगासन महत्त्व हिजोआज झन् बढ्नु स्वाभाविकै हो ।

योग आसन, ध्यान तथा प्राणायामले मनमस्तिष्क तथा शरीरका सम्पूर्ण अंगहरूमा प्रभाव पारी मनमस्तिष्क तथा शरीरलाई निरोग, दृढ र बलिष्ठ बनाउने कुरा वैज्ञानिकरूपमा नै प्रमाणित भएकाले आफ्नो शरीरलाई सुन्दर, आकर्षक र निरोगी बनाउन तथा विचारशक्ति, इच्छाशक्ति र मस्तिष्क शक्ति बढाउन योगलाई अपनाउनु बुद्धिमानी हो ।

बिहान सबेरै उठ्ने र दिनहुँ बिहान ५-६ किलोमिटर दौडने वा लामोलामो पाइलामा हिँडेर वायु सेवन गर्ने वा स्किपिंग गर्ने वा लनमा उफ्रिने (६०-७० वर्ष नाघेका प्रौढहरू दौडिन हुँदैन, लामो र छिटो पाइलाहरूले हिँड्नुपर्छ, तर युवायुवतीहरू हिँडेर मात्र हुँदैन, दौड लगाउने गर्नुपर्छ) ।

हिँडाइ या दौडाइपछि केहीबेर विश्राम गरेर प्राणायाम, ध्यान तथा योगासनजस्ता व्यायामहरू गर्नु आरोग्य जीवनको आधार हो ।

 

योग अभ्यास कसरी र कति गर्ने ? यस्ता छन् १५ उपायहरु

१. खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ । अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ ।

२. योग अभ्यास सकेर आधा घन्टाजति कुरेर त्यसपछि मात्र खाना खान मिल्छ ।

३. हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्न सकिन्छ ।

४. लुगा खुकुलो एवं सजिलो हुनुपर्छ, अझ सुतिको भए उत्तम हुन्छ ।

५. शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नुपर्छ ।

६. चस्मा र कन्ट्याक लेन्स छ भने अभ्यास गर्दा झिक्नुपर्छ ।

७. दिसा-पिसाब सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ ।

८. महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन। यस्तो बेला कीर्तन, ध्यान, प्राणायाम मात्र गर्दा राम्रो। यसबेला तल्लो पेट चलाउनु हुन्न ।

९. प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्‍याउन सकिन्छ ।

१०. सामान्यतया अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ । तर मुटु, हर्निया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन ।

११. कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन ।

१२. दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।

१३. योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ ।

१४. उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन ।

१५. अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि अथवा विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।

 

तपाईंको प्रतिकृयाहरू