fbpx




काठमाडौं, उमेरका हिसाबले ८४ वर्षमा हिँडिरहेका नगेन्द्रराज शर्माले यो साता आफ्नो सम्पादनमा प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ को दुई सयौं अङ्क प्रकाशन गरे । एक्लो व्यक्तिको प्रयासमा निरन्तर साहित्यिक पत्रिका चलाउनु आफैंमा दुस्साहसपूर्ण काम हो ।

नेपाली साहित्य र साहित्यकारका विषयमा मिहिन जानकारी राख्ने व्यक्तिमा पनि शर्मा चिनिन्छन् । समालोचक वासुदेव त्रिपाठीका अनुसार सबै अङ्कमा स्तरीय रचना छाप्न सक्नु ‘अभिव्यक्ति’ को महत्वपूर्ण विशेषता हो । ०२७ सालदेखि बजारमा आएको ‘अभिव्यक्ति’ पत्रिकाको सम्पादन र प्रकाशनको ५० वर्ष पुगेको अवसरमा नगेन्द्रराज शर्माले अवकाश लिने निर्णय गरेका छन् । अब ‘अभिव्यक्ति’ स्वतन्त्र साहित्यिक समूहबाट प्रकाशन हुनेछ ।

लक्ष्मीप्रसाद देवकोटा देखि अहिलेका युवा पुस्ताका लेखक सम्मको संगत गरेका शर्मा नेपाल साहित्यिक पत्रकार संघका संस्थापक सदस्य एवं पूर्व अध्यक्ष पनि हुन् । उनका दुई उपन्यास र दुई कथा सङ्ग्रह प्रकाशित छन् ।

पद्मश्री सम्मान प्राप्त शर्मासंग एक पत्रिकाले यसपटक उनको ५० वर्षे साहित्यिक पत्रकारिताका अनुभवबारे सोध्दा उनि यसरी खुले ।

५० वर्षे साहित्यिक पत्रकारितालाई कसरी सम्झनुहुन्छ ?

संघर्षपूर्ण तर रमाइलो । सन्तान जन्मने आशामा गर्भ बोकेकी आमाको जुन अवस्था हुन्छ, मेरो पत्रकारिता करिब करिब त्यस्तै रह्यो ।

यसलाई थोरै स्पष्ट पारिदिनुस् न ।

अरु पत्रकारिता गर्दा मानिस आर्थिक रुपमा पनि सम्पन्न हुँदै जान्छ, स्वभाविक रुपमा । तर, साहित्यिक पत्रकारिता सुरु गर्दा मानिस जुन अवस्थामा हुन्छ, ५० वर्षमा पनि उसको अवस्थामा परिवर्तन हुँदैन भन्ने कुरा मेरो जीवनबाट लिन सकिन्छ । धन्न म, सम्पन्न परिवारको छोरो थिएँ । त्रिभुवन विश्वविद्यालयमा जागिरे थिएँ । यी कारणले परिवारको विचल्नी भएन । यसमा खुसी छु ।

तपाईं अभिव्यक्तिको सम्पादक हुनु अघि नै उपन्यासकारका रुपमा चर्चित हुनुहुन्थ्यो । पत्रकारितमा लागेर आफ्नो सर्जक व्यक्तित्वलाई अन्याय गरेँ भन्ने लाग्दैन ?

चर्चित भए पनि म धेरै राम्रो श्रष्टा होइन भन्नेमा ढुक्क छु । त्यो किनभने दुईवटा उपन्यास छापे पछि मैले लेखेका अरु पुस्तक छाप्न स्तरीयताका कारणले ठीक लागेन । आफूले लेखेका कुराले मानिसलाई प्रभाव पार्छ भन्ने बोध भएपछि लेखेका सबै कुरा बजारमा पठाउन गाह्रो हुन्छ । कम्तिमा ‘अभिव्यक्ति’ जस्तो स्तरीय पत्रिका निकाल्छु भनेर लागेपछि आफ्नो रचनामा पनि त्यो स्तरीयता कायम हुनुपर्छ । पुर्नलेखन गरेको भए छाप्न योग्य पनि हुन्थे होला । त्यतातिर लागिनँ ।

‘अभिव्यक्ति’ निकाल्छु भन्ने सोच चाहिँ कसरी आयो ?

पञ्चायती व्यवस्था सुरु भएपछि दर्ता नगरेको पत्रिका प्रकाशनमा सरकारले रोक लगायो । त्यति मात्र होइन, पत्रिका दर्ता गर्न पनि आम मानिसका लागि करिब करिब असम्भव जस्तै भयो । यही अवस्थामा नेपालमा दुईवटा साहित्यिक पत्रिका चर्चामा थिए, ‘रुपरेखा’ र ‘रचना’ । यी दुईवटा पत्रिकामा आफ्ना सामग्री छाप्नु ठूला–ठूला साहित्यकारका लागि पनि गौरवको विषय हुन्थ्यो । यो कुरा मैले नजिकबाट अनुभव गरिरहेको थिएँ । यहि बेला मेरा भाइमित्र तथा रचनाका सम्पादक रोचक घिमिरेले पञ्चायतको यो अप्ठ्यारो अवस्थामा कुनै पत्रिका दर्ता गर्न सक्नु ठूलो उपलब्धि हुने बताए । यो कुरा हुँदा रोचकको घरमा हाँस्यव्यङ्ग्यकार भैरव अर्याल पनि साथमै थिए ।

मेरो टोलको मिल्ने साथी धनमणिका पिताजी विष्णुमणि आचार्य वाग्मती अञ्चल प्रमुख थिए । मैले पत्रिका दर्ता गर्नु कुनै ठूलो कुरा होइन भनेर आफ्नो पहुँच विष्णुमणि सम्म भएको उनीहरुलाई बताएँ । त्यसपछि त के थियो, दुबैले यो मौका चुकाउनुहुन्न । पावरमा भएको मानिस चिन्नु ठूलो कुरा हो भनेर हौसाए ।

यसरी लहैलहैमा मैले साथीको घर गएका बेला उसको बुवाले सुन्ने गरि आफ्नो इच्छा सुनाएँ । पत्रिका सजिलै दर्ता हुने वातावरण भयो ।

पहिलो अङ्कमै तपाईंको पत्रिका निकै चर्चित थियो भन्ने गरिन्छ, खास कारण के थियो ?

त्यो बेला प्रज्ञा प्रतिष्ठानका कुलपति थिए, केदारमान व्यथित । राजा महेन्द्र साहित्यको प्रवद्र्धन गर्ने चाहाना राख्थे । यहि कारण व्यथितले देशका ठाउँ ठाउँमा साहित्यिक सम्मेलन गर्न थालेका थिए । चितवनमा त राजा महेन्द्र सहितका दर्जनौ लेखक–कविहरुले नदीमा डुंगामा बसेर कविता वाचन गरेका थिए । देशभरि नै साहित्यिक भेला हुँदै गर्दा म पनि कविका रुपमा प्रख्यात हुन थालेको थिएँ । यही कारण झापाको साहित्य सम्मेलनमा मलाई पनि निम्तो आएको थियो ।

संयोग कस्तो पर्‍यो भने अभिव्यक्तिको पहिलो अङ्क निस्कनु र झापाको साहित्य सम्मेलन हुनु एकै साथ पर्‍यो । पहिलो अङ्कमै केदारमान व्यथित देखि भूपि शेरचन सम्म पारिजात देखि शङ्कर लामिछाने सम्मका सिर्जना समेटिएका थिए । यी सबै त्यो बेलाका स्टार लेखक थिए । यही कारण पहिलो अङ्कदेखि नै ‘अभिव्यक्ति’ चर्चित भयो ।

भर्खरै निस्केको पत्रिकालाई स्टार लेखकले कसरी पत्याए ?

पारिजातको नियमित पिउने बानी थियो भन्ने कुरा रोचक मार्फत थाहा पाएको थिएँ । उनैले पारिजात कहाँ जाँदा एक क्वाटर ह्वीस्की बोकेर जानू भन्ने सुझाव दिएका थिए । पहिलो दिन जाँदा रक्सी दिने आँट गरिनँ र त्यतिकै फर्किएँ । भोलिपल्ट भने आँट गरेर सगुनका रुपमा रक्सी टक्र्याएँ । त्यसपछि त सुकन्या, म र पारिजात मिलेर त्यही रक्सी पिउँदै रचना लिने मात्र होइन, गहिरो दोस्ती समेत भयो ।

शंकर लामिछानेसँग भने टाइप गरेका भिन्न–भिन्न मूल्यका फाइलहरु रहेछन् । तिनीहरुको आफ्नै मूल्य रहेछ । मैले छानेर सबैभन्दा सस्तो रचना ल्याएर छापेको हुँ । केदारमान व्यथित, भूपि शेरचन, द्वारिका श्रेष्ठ, मदन रेग्मी सबैका घर घरमा पुगेर रचना मागे ।

मोहन कोइराला त्योबेला भूपिपछिका ठूला कवि मानिन्थे । तर, मैले उनको रचना जीवनभरि छापिनँ ।

किन ?

पहिलो अङ्कमा अरुसँग जसरी रचना माग्न गएँ, उनको घरमा पनि गएको थिएँ । कोइरालाले ‘कति पैसा दिन्छौ ?’ भनेर सोधे । पहिलो अङ्क भएकाले पारिश्रमिक दिन सक्दिन, पछि पछि दिन्छु भनेर आफ्नो विवशता पोखेँ । उनले भने, ‘जुन दिन पैसा दिन सक्छौं, त्यही दिन कविता लिन आउनू’ भनेर ढोका देखाइदिए ।

तर, कोइरालाको दुर्भाग्य के भइदियो भने पत्रिका सुरुदेखि नै हिट भयो । त्यसपछि मलाई रचनाको खाँचो नै भएन । म उनको कविता नभए पनि पत्रिका चलाउन सक्छु भन्ने अवस्थामा पुगें ।

तपाईं नेपाली साहित्यको जीवित इतिहास हो । तपाईंको विचारमा रचना उत्कृष्ट नभए पनि कुन कुन लेखकले आवश्यकता भन्दा बढी चर्चा पाए भन्ने ठान्नुहुन्छ ?

सिद्धिचरण श्रेष्ठ, पारिजात, मोहन कोइराला जस्ता केही लेखक कविहरुले आवश्यकता भन्दा बढी चर्चा पाए भन्ने लाग्छ ।

यो आरोप होइन, मैले मिहीन अध्ययन गरेर बोलेको कुरा हो । जस्तो सिद्धिचरण भन्दा केदारमान व्यथित ठूला कवि हुन् । तर, सिद्धिचरण र केदारमान व्यथित बीच नजानिँदो प्रतिस्पर्धा थियो । त्यो प्रतिस्पर्धामा सिद्धिचरणले पैसा र पहुँचले व्यथितलाई पछि पारेका हुन् । सिद्धिचरण सेनाको ठेक्कापट्टा गर्थे । उनीसँग पैसाको कमी थिएन ।

पारिजातको हकमा के भइदियो भने उनी महिला थिइन्, अपाङ्ग थिइन् र जनजाति थिइन् । त्यसमा पनि माक्र्सवादी थिइन् । यी सबैले भिन्न–भिन्न कोणबाट उनको उचाइ बढाउने काम गरे । मोहन कोइरालाको कविता नबुझिनु नै उनको राम्रो पक्ष भइदियो । त्यसमाथि कोइराला र कांग्रेस हुनुको फाइदा पनि उनले लिए ।

निष्पक्ष भएर उनीहरुको कृति एकातिर राख्ने हो र त्यो बेलाका सामान्य चर्चा पाएका पुस्तक एकातिर राख्ने हो भने यो कुरा सजिलै भन्न सकिन्छ ।

तपाईंको विचारमा ‘शिरीसको फूल’ पनि सामान्य कृति नै हो त ?

‘शिरिसको फूल’का विषयमा एउटा घटना सुनाएपछि मात्र सायद मेरो कुरा स्पष्ट हुन्छ ।

एकपल्ट ‘शिरिसको फूल’ को नयाँ संस्करण प्रकाशन गर्नु अघि साझा प्रकाशनले प्रुफ रिडिङका लागि पुस्तक मसँग पठाइदियो । त्यो पढेर म छक्क परेँ । किनभने पहिलो संस्करण दार्जेलिङे लवज र शैलीमा आएको थियो र त्यसले पुस्तकलाई मिठास भरेको थियो । त्यही भाषा शैलीबाट मुग्ध भएर शंकर लामिछानेले त्यस किसिमको भूमिका लेखेका थिए । मसँग आएको पुस्तक भने पूर्णरुपमा काठमाडौंको स्थानीय शैलीमा परिवर्तन भएको थियो । हरेक संस्करणमा सम्पादकले अनुपयुक्त लागेका कुरालाई आफ्नै शैलीमा पविर्तन गर्दै ल्याएका रहेछन् ।
यो कुराले मलाई निकै पीडा दियो र मैले पारिजातको ल्याण्ड लाइनमा फोन गरेँ । पारिजातले भनिन्, ‘नगेन्द्रजी, ‘शिरिसको फूल’ले अब मेरो विचारको प्रतिनिधित्व गर्दैन । त्यसकारण त्यो पुस्तक जेसुकै भए पनि मलाई मतलब हुने कुरा भएन । तपाईंले पनि आफ्नो तरिकाले नै सम्पादन गर्न सक्नुहुन्छ ।’

त्यो दिन मैले महसुस गरेँ, पारिजात श्रष्टा नभएर कुनै विचारको प्रतिनिधित्व गर्ने कार्यकर्ता भइसकिछन् । माक्र्सवादी दर्शनबाट प्रभावित भएपछि लेखिएका उनका कृतिहरु सामान्य छन् । त्यति हुँदा हुँदै पनि उनले अन्तिम समय सम्म त्यस्तै कृतिको प्रवद्र्धन होस् भन्ने चाहिन् ।

जबकि ‘शिरीसको फूल’ नेपाली साहित्यमा फरक कृति थियो, जसलाई काठमाडौंका सम्पादकहरुले आफ्नो शैलीमा मज्जाले गिजोलिदिए । आफ्नै कृतिलाई माया नगर्ने पारिजातलाई म कसरी उत्कृष्ट लेखिका भनौँ ?

तपाईंको विचारमा राम्रो लेखेर गुमनाम भएका लेखकहरु को को हुन् ?

नेपाल साँच्चै नै विचित्रको देश हो । राम्रो लेखक हुन सबैभन्दा पहिले राम्रो मानिस हुनुपर्छ । यहाँ त सामान्य मानिस ठूला लेखक भइरहेका देखिन्छन् । राम्रा लेखक भने गुमनाम भइरहेको महसुस हुन्छ । जनार्दन सम निकै राम्रा लेखक थिए । तर, बुवा बालकृष्ण समको छाँयामा परेर हराए । नीर विक्रम प्यासी जस्तो उत्कृष्ट लेखक विरलै पाइन्छन्, तर उनको कुनै चर्चा भएन । त्यस्तै अवस्था कुमार ज्ञवालीको पनि रह्यो । उनको मृत्यु भएको खबर सम्म पनि पत्रिकाहरुमा छापिएन । मैले पनि उनी बितेको १५ दिन पछि मात्रै थाहा पाएँ । कवि हेम हमालको अवस्था त्यस्तै भयो । यी केही उदाहरण मात्र हुन् ।

नयाँ पुस्ताका लेखकलाई के सल्लाह दिनुहुन्छ ?

लेखेका सबै कुरा प्रकाशन योग्य हुन्नन् । देवकोटा प्रतिभाशाली भए पनि उनका सबै कृति पठनीय छैनन् । जब कि माधव घिमिरे र बालकृष्ण सम मध्यम स्तरका कवि लेखक भए पनि उनीहरुका कृतिहरु उत्कृष्ट छन् । यी दुबै लेखक पटक–पटक लेख्ने, सच्याउने, पर्गेल्ने, अध्ययन गर्ने काममा निपूर्ण थिए । त्यसै गरी ध्रुवचन्द्र गौतम प्रतिभाशाली आख्यानकार हुन् । तर, उनका पनि सबै कृति राम्रा छैनन् । जब कि उनका दाजु धच गोतामेले जति प्रकाशन गरे, उत्कृष्ट गरे । गोतामे पनि पुर्नलेखन गर्न गाह्रो मान्दैन थिए ।

नयाँ पुस्ताले देवकोटालाई होइन, समलाई, ध्रुवचन्द्रलाई होइन, धच गोतामेलाई पछ्याउनुपर्छ ।

जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’ मा तपाईंको धेरै प्रसंसा गरिएको छ । दाजु भएका कारणले मात्र उहाँबाट प्रशंसा आएको हो कि अरु पनि कारण छन् ?

साहित्यको हकमा कुरा गर्ने हो भने जगदीश र म दाजुभाइ कम साथीभाइ बढी हौं । जनकपुरमै छँदा हामीले एकसाथ लेखपढ सुरु गरेका हौं । सुरु सुरुमा हामी दुबैले पालैपालो गुलसन नन्दा जस्ता सामान्य तर रमाइला लेखकका पुस्तक पढ्ने गरेका हौं ।

पछि पढाइको स्तर पढ्दै गएपछि प्रसाद, पन्त र निराला जस्ता लेखकमा उक्लियौं । त्योबेला हाम्रो पुस्ताको सबैभन्दा प्रभावशाली कवि थिए, विहारका राजकमल चौधरी । उनको ‘मुक्ति प्रसङ्ग’ हाम्रा लागि भागवत गीता जस्तै पूजनीय पुस्तक थियो । सिंगै पुस्तक याद गर्थ्यौं । यी सबै कारणले जगदीशको लेखनमा मेरो पनि सहयोग रह्यो ।

पछि लेख्न थालियो । लेख्दा हामी एक अर्काका पहिलो पाठक थियौं । मैले जागीर सुरु गरेपछि उसको पुस्तक प्रकाशन गर्न मेरो पनि सहयोग रहन्थ्यो । सायद यही कारण उसले मलाई सम्झेको अनुभव हुन्छ ।

‘अभिव्यक्ति’ पत्रिकाबाट अगल भएको घोषणा गर्नुभएको छ । पत्रिका निरन्तर नहोला भन्ने चिन्ता लागेको छैन ?

साहित्यका सहयोगीहरुबाट २० लाख जम्मा गरेको छु । त्यसलाई ब्याजमा लगाएर त्यसबाट हुने आम्दानीबाट पुस्तक प्रकाशन गर्ने जिम्मा दिएको हुँ । आफूले छाड्दा योजना बनाएरै छाडेका कारण पत्रिका बन्द होला भन्ने लाग्दैन ।

तपाईंको प्रतिकृयाहरू