fbpx




विनोद ढकाल/टिप्पणी

काठमाडौं(लुम्बिनी आवाज) गुठी विधेयक राष्ट्रिय सभामा दर्ता भएको केही दिनमा उपत्यकामा गुठीयारहरूले विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरे । उक्त प्रदर्शन सरकार विरुद्ध थियो, जसमा मिसियो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि ।

तत्कालिन प्रधानमन्त्री तथा हालका प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाले राजतन्त्र कालमा सदनमा पेश गरेको विधेयक नै सरकारले ल्याएको दाबी सत्तापक्षको थियो । देउवाको उक्त विधेयक १८ असोज, २०६० मा त्यसबेला प्रतिनिधि सभा विघटन भएका कारण प्रस्तुत हुन नसकेको दाबी गरिएको छ ।

तर, सोही विधयेक विरुद्धको आन्दोलनमा कांग्रेसले जोडेर नातावादी विरोधको हल्ला पिट्यो – गुठीयारले भने, ज्वाँईहरू बेइमान परेछन् ।

गुठी विधेयकका विषयमा टिप्पणी गर्दै उपत्यकाका नेवार समुदायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ज्वाँई त बेइमान रहेछ’ भनेको चर्चा कांग्रेस सांसद गगन थापाले गरेका थिए । तर, गुठी विधेयकविरुद्धको अभियानमा लागेका कुनै पनि गुठीयारले उक्त शव्दको प्रयोग गरेका थिएनन् । न त माइतीघर मण्डलामा भएको विशाल सभामा उक्त भाषाको प्रयोग भयो ।

तर थापाले बसन्तपुरमा भएको गुठी विधेयक विरुद्धको एउटा सभामा पनि उक्त शव्दको प्रयोग गरेका थिए ।

राजनीतिक अभियान र संघर्षका दौरान धेरै नेकपाका नेताले काठमाडौं उपत्यकामा रहेका नेवार समुदायका छोरीचेलीसँग बिहे गरेका थिए । तत्कालिन कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठले पनि संघर्षका दौरान जुराईदिएको जोडीको प्रभाव मान्नुको साटो मुद्दा बनाउनुले कांग्रेसले प्रतिपक्षीमा पनि कमजोर भइरहेको सन्देश दिएको गुठी अधिकारकर्मीहरू बताउँछन् ।

एक गुठीयार भन्छन्,‘हामीले यसलाई सामाजिक मुद्दाका रूपमा उठायौं, पहिचान र संस्कृतिको जगेर्नाका विषयमा उठायौं । प्रधानमन्त्री वा कुनै नेतालाई पारिवारिक हिसाबमा त्यसरी भनेका छैनौं ।’

बरु, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलेचाहिँ संसदको रोष्टममा उभिएर ज्वाँई प्रधानमन्त्री, मन्त्रीहरूले यो आन्दोलनबाट शिक्षा लिनका लागि सुझाव दिए । सो क्रममा काठमाडौंको नेवार समुदायकी पत्नी हिसिला यमीसँग बिहे गरेको कारण आफूलाई पनि उनले सोही सम्बोधनमा समेटेका थिए ।

गुठी विधेयकविरुद्ध प्रदर्शनको घोषणा गरेको अघिल्लो दिन नै भूमीसुधारमन्त्री पद्मा अर्यालले उक्त विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् । जसको संसदीय प्रक्रिया राष्ट्रिय सभामा आइतबार सुरु भएको छ । अझै पनि फिर्ता भन्दा खारेजी हुनुपर्ने गुठीयारको माग छ । शनिबार साँझ मसाल जुलुस गरे पनि सरकारविरुद्ध अन्य नारा र भाषा लगाए पनि गुठीयारले ‘ज्वाँई हल्ला’बारे एक शव्द पनि बोलेका छैनन् ।

अर्का गुठीयार भन्छन्,‘यो सम्पदाको सुरक्षण, परम्परा र संस्कृतिको विषय हो । यो राजनीतिक पनि होइन । त्यसैले हाम्रा सभामा राजनीतिक झन्डा प्रयोग भएका छैनन् । केही राजनीतिक दलले सरकारविरुद्ध बोल्दा पारिवारिक विषयलाई जोडेका छन् ।’

सरकारले भिडलाई नियन्त्रण गर्नका लागि खटाएका सुरक्षाकर्मीलाई फूल बाँड्ने गुठीयारले फूलकै भाषा बोल्ने गरेका थिए । ‘हामीले देशका प्रधानमन्त्रीदेखि सबै नेतालाई मानेका छौं, व्यक्तिगत प्रहार गरेका छैनौं । बरु संस्कृति मासिनु हुन्न भन्ने आवाज मात्र हो, फूल दिने हामीले हरेक चिजमा हेक्का राखेका छौं’, एक अधिकारकर्मीले भने ।

यसै पनि सरकारविरुद्ध बोल्न नेपाली कांग्रेसका लागि बलियो र ठोस मुद्दा केही थिएन । उसले प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनका लागि मागेको समयमा नै बितण्डा मच्चायो, जसका कारण आफ्ना विषय पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीले सुनाएका थिए ।

तपाईंको प्रतिकृयाहरू