fbpx




बुटवल(लुम्बिनी आवाज) दाङ र रुपन्देहीका बिभिन्न स्थानहरुमा चट्याङ पर्दा ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ आमी भन्ने स्थानका ६२ वर्षिया चन्द्र बहादुर बि.क, कञ्चन गाउंपालिका वडा नं.‍ २ फुलबारीका ६० वर्षिया नन्दराम अर्याल र गैडहवा गाउंपालिका वडा नं. ७ वर्बदैयाका २५ वर्षिया भागवत दास लोधको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैनिक जस्तो गाईवस्तु चराउने क्रममा घर नजिकै रहेको चौरमा चट्याङ लागेर घाइते भएका बि.क.को लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

यस्तै अर्यालको पनि घर नजिकै गाइबस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको प्रहरीले बताएको छ । लोधको भने तरकारी बारीमा जाने क्रममा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

दाङमा ३ बालकको मृत्यु

त्यस्तै चट्याङ लागेर दाङमा ३ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार सांझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी चट्याङ लागेर बिनाशका भाइ ८ वर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन् ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारैजना बालक जामुनाको रूखमा चढेका थिए । उनीहरू रूखमा चढेका बेला परेको चट्याङ परेको हो ।

तपाईंको प्रतिकृयाहरू