fbpx




पाल्पा (लुम्बिनी आवाज) निस्दी गाउँपालिका–४, मित्याल पाल्पामा सञ्चालित हावाबाट निकालिएको विद्युत सेवाबाट उपभोक्ताहरु प्रभावित भएका छन् । हावाबाट बिजुली भन्ने बित्तिकै सुरुमा हावादारी कुरा जस्तो लागे पनि अहिले बिजुली झलल बल्दा स्थानियहरुले खुशी व्यक्त गरेका छन् । बाह्रै महिना निरन्तर हावा चलिरहने पाल्पाको मित्यालमा एक दशमलव दुई मेगावाट विद्युत् उत्पादन गरेको र उक्त विद्युत वडा कार्यालय, स्वास्थ्य चौकी र रुक्से भन्ज्याङ बजार क्षेत्रमा वितरण गरिएको छ ।

पीडा नेपाल, काठमाण्डौ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रीसको सामाजिक संस्थाको सहयोगमा मित्याल रुक्से भञ्याङ्मा पङ्खा राखेर विद्युत् उत्पादन गरिएको छ । मित्याल वायु ऊर्जा तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र सुनारीले हावाबाट बिजुलीले सेवा मात्र नभई मानिसहरु अवलोकनका लागि आउने हुँदा आन्तरिक पर्यटनमा समेत टेवा पुगेको दाबी गरेका छन् । उनले विद्युत विस्तारका लागि फेरि २५ किलोवाट क्षमता वृद्धि गरिएको जानकारी दिँदै लगभग ९० प्रतिशत काम पुरा भईसकेको बताएका छन् ।

पछिल्लो विद्युत विस्तार कार्यक्रम सम्पन्न पश्चात गाउँपालिकाको रुक्से भञ्जाङ, झ्याल्टुङ, मौलाथर, घुम्सिवर र मित्याल बजारमा विद्युत् वितरण गरिने गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी दिए । उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत कृष्ण ग्रिल उद्योगले कामको ठेक्का लिएको र दुई करोड रुपैयाँ भन्दा बढी लागत लाग्न सक्ने अनुमान समेत रहेको बताए ।

सामान्य तेलबाट बल्ने टुक्कीको भरमा जीवनयापन गरेका मित्यालका सर्वसाधारण हावाबाट बिजुली निस्केपछि र त्यस सेवा पाएपछि खुशि छन् । बाक्लो मगर बस्ती रहेको त्यस डाँडामा राखिएका पङ्खा हावाबाट चल्छन् । ‘सुन्दा पत्याएकै थिएनौँ, हावाबाट पनि बिजुली आउँदो रहेछ, हामी त अचम्म पर्याैं’, स्थानीय सन्तवीर सुनारी सुनाउंछन् । वडा नम्बर ४ का कार्यालय सहायक सहवीर खन्गाहाले हावाबाट उत्पादित बिजुलीका कारण कार्यालयको काम गर्न सजिलो भएको बताउछन् । वडा कार्यालयको काम छिटोछरितो गर्न समेत सहयोग पुगेको उनको भनाइ छ । बजार व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सारूले भन्छन्, ‘सबैले हावाबाट बिजुली निकाल्नु हावादारी गफ भन्थे, यहाँ प्रमाणित भएको छ, हामीले मज्जाले बत्ती बालेका छौँ, बल्ल अहिले अचम्म मानेर मानिसहरु हेर्न आउने गरेका छन्, यसबाट आन्तरिक पर्यटन विकासमा समेत टेवा पुगेको छ ।’

बिजुलीबाट वडा कार्यालय र स्वास्थ्यचौकीमा कम्प्युटर, प्रिन्टर सञ्चालन गर्न तथा इन्टरनेट चलाउन र रुक्से भञ्ज्याङ बजारमा सात वटा बत्ती जडान गरिएका छन् ।

अहिलेसम्म मित्यालमा बिजुलीकाे केन्द्रीय प्रसारण लाइन भने पुगेको छैन । विद्युत् विस्तारका लागि गाउँपालिकाले ४० लाख रुपै‌याँ विनियोजन गरेको छ । मित्यालवासीले झण्डै एक वर्षदेखि त्याे सेवा लिँदै आएका छन् । स्रोतः उज्यालो खबर पत्रिका

तपाईंको प्रतिकृयाहरू