fbpx




५ जेठ, काठमाडौं । ‘तपाईंलाई कति शब्दको अन्तरवार्ता चाहिन्छ ?’ रवीन्द्र मिश्रले शुरुमै भने, ‘त्यस अनुसार ठिक्क बोल्छु, तपाईंले काट्नै नपर्ने गरी ।’

हामीले शब्दको सीमा नभएको भन्दै तौलेर बोल्नु नपर्नेमा आश्वस्त गरायौं ।

त्यसपछि मिश्रले गम खाँदै भने, ‘मेरो जीवनका चारवटा पाटाहरु छन् । परोपकार, पत्रकारिता, साहित्य र राजनीति । यी चारवटै पक्षलाई तपाईंले ध्यानमा राख्नुभयो भने सजिलो होला ।’ हामीसित चाहिँ उनको पत्रकारिता र राजनीतिसित जोडिएका जिज्ञासा बढी थिए ।

मिश्रको भैंसेपाटीस्थित निवासमा हामी थियौं । घरभित्रै पनि उनी कोट पाइन्टमा सजिएका थिए । अनुहारमा ‘ब्रान्डेड’ मुस्कान त छँदैथियो । उनले एक वर्षदेखि आफू इन्टरभ्यूबाट भागिरहेको सुनाए ।
यदि अहिलेका नेताहरुले परिवर्तनलाई संस्थागत गर्न सकेनन् र यही मुद्दाले सधैं विकासलाई वाधा पुर्‍याइराख्यो भने अन्ततः जनमतसंग्रहमा जानैपर्ने हुन्छ
‘मिठो कुरा पनि धेरै खायो भने तीतो हुन्छ, त्यसैले पटकपटक एउटै कुरा पढिरहँदा पाठकलाई पनि वाक्क होला भनेर इन्टरभ्यू दिएको थिइनँँ । तपाईंले अलि नौला कुराहरु निकाल्नुहोला भन्ने आशा छ,’ मिश्र भन्दै थिए ।

अन्तरवार्तामा सामान्यतया शब्द शब्द तौलिएर बोल्ने मिश्रलाई हामीले अलि अनौपचारिक बनेर खुलस्त कुराकानी गर्न आग्रह गर्‍यौं । डेढ घन्टा लामो कुराकानीमा कतिपय सवालमा उनी खुलस्त पनि भए, भने कतिपय सवालमा अलि अप्रष्ट । खासगरी राजनीतिक प्रश्नहरुमा उनका विचार विरोधाभाषमा जेलिएका झैं लाग्थे ।

पारिवारिक पृष्ठभूमिबाट कुराकानी सुरुवात भयो । मिश्रले सुनाएः

म काठमाडौंमा जन्मे–हुर्केको हुँ । बौद्ध महांकालमा पुर्ख्यौली घर थियो । मेरो हजुरबवा भर्सटाइल व्यक्ति हुनुहुन्थ्यो । चित्रकारिता, साहित्य र संगीत तीन क्षेत्रमा उहाँको दख्खल थियो । तर, कम उमेरमै बित्नुभयो ।

हजुरबा बितेपछि बुवा १३ वर्षकै उमेरमा अनाथ हुनुभयो । बुवा बितेकै वर्ष परिवारमा थप ६ जनाको प्राकृतिक मरण भएको थियो रे । ६ कक्षामा पढिरहनुभएका बुवाले हजुरबुवाको मृत्यूपछि विद्यालय जान पाउनुभएन । तर, आफ्नै मिहिनेतले चित्रकारितामा नाम कमाउनुभयो ।

तपाईंका बुवा मनुजवाबु मिश्र ०४६ सालदेखि ३० वर्षसम्म आफ्नै घरभित्र ‘एकान्तवास’ मा हुनुहुन्थ्यो । त्यो कस्तोखालको एकान्तवास थियो र उहाँले किन त्यस्तो कष्टप्रद जीवन रोज्नुभयो ?

बुवा ०४६ सालको राजनीतिक परिवर्तनपछि अलि विरक्तिनुभएको थियो । यही विरक्तिका कारण उहाँले आइन्दा कुनै सार्वजनिक कार्यक्रममा नजाने र घरभित्रै एकान्तवासमा रहने घोषणा गर्नुभयो । त्यसअनुसार जीवनको अन्तिम कालखण्डसम्म पनि उहाँ एकान्तवासमा हुनुहुन्थ्यो । उहाँले घरभित्रै बसेर किताब लेख्नुभयो, चित्र बनाउनुभयो । आर्ट एक्जिविसन पनि घरभित्रै गर्नुभयो । आफ्नै पुस्तकको विमोचन कार्यक्रममा पनि उहाँ कहिल्यै उपस्थित हुनुभएन । उहाँलाई भेट्न चाहनेहरु घरमै आउँथे ।

एकपटक तत्कालिन राजा वीरेन्द्रले दरबारमा आएर आफ्नी छोरी श्रुतीलाई फाइन आट्र्स पढाउन बुवालाई आग्रह गर्नुभएको थियो । तर, उहाँले अस्वीकार गर्नुभयो । ‘म एकान्तवासमा छु, मेरै घरमा आउने भए पढाइदिन्छु, तर दरबार आउन सक्दिन’ भनेर विनम्रतापूर्वक जवाफ दिनुभयो । तर, दरबारले त्यसरी के पठाउँथ्यो ।

प्रजातन्त्रप्रति उहाँको यति ठूलो वितृष्णा किन थियो ? यत्ति कारणले आफ्नो जीवनशैली नै बदल्ने कुरा अस्वभाविक होइन ?

बुवा एकदम युनिक खालको व्यक्ति हुनुहुन्थ्यो । उहाँको सोच्ने तरिका नै फरक थियो । कतिपय विषयमा उहाँ र मेरो विचार मिल्थेन । हो, उहाँ नेपालमा प्रजातन्त्र आएकोमा खुशी हुनुहुन्थेन । तर, आप्mनो विचार उहाँले हामीमा कहिल्यै लाद्न चाहनुभएन । मैले पनि उहाँलाई कुनै किसिमको फोर्स गरिनँ । सबैले आफ्नो धारणा र सिद्दान्तका आधारमा जिउन पाउनुपर्छ ।

हजुरबुवा र बुवा दुवैजना कलाकारितामा हुनुहुन्थ्यो । तपाईंचाहिँ यो विधामा कहिल्यै आकर्षित हुनुभएन ?

बाल्यकालमा लामो समय बुवाभन्दा टाढा रहेँ । कक्षा ५ देखि १० सम्म दार्चुला र डोटीमा काकासँग बसेर पढेको हुँ । एसएलसी दिन चाहिँ काठमाडौं आएँ । एसएलसी पास भएपछि बुवासँग चित्रकला सिक्ने कोशिस पनि गरेको हुँ, तर खासै मेसो आएन । एउटा सम्भावनाचाहिँ, यदि बुवाले ललितकलामा पढाउने नभएको भए म त्यहाँ भर्ना हुन सक्थेँ । तर, बुवाले पढाउने ठाउँमा के भर्ना हुनु जस्तो लाग्यो । बुवाले पनि चित्रकारिताको साटो पत्रकारिता पढ्न सल्लाह दिनुभयो ।

काठमाडौंमा जन्मिएको मान्छे, यहाँका सुविधायुक्त विद्यालयमा पढ्न छोडेर किन डोटी पुग्नुभयो त ?

म काकासँग नजिक थिएँ । त्यसैले बुवाले काकासँग सल्लाह गरेर पठाउनुभएको हो । त्यसमा मलाई कुनै गुनासो छैन । त्यहाँ म खुबै रमाएँ । नेपालको ग्रामिण जनजीवनलाई नजिकबाट नियाल्न पाएँ । त्यो पाँच वर्षको बसाईले मेरो जीवनमा ठूलो महत्व राख्छ । म अहिले जे बनेको छु, त्यसमा डोटी र दार्चुलाको बसाईको केही न केही योगदान छ । राति १२/१ बजेसम्म ढुंगा फुटाएर पसिना पुछ्दै नूनको ढिक्का र खुर्सानी हालेर सुख्खा रोटी खाने श्रमिकहरुको छाप ममा परेको छ । त्यही छापले मलाई परोपकार र राजनीतिमा होमिन प्रेरित गर्‍यो ।

त्यहाँका विद्यालयको शैक्षिक स्तर चाहिँ कस्तो थियो ?

स्तरको त के कुरा गर्नु ? विद्यालयमा विद्यार्थीहरु बस्नलाई डेस्क–बेन्चसमेत थिएन । सुकुलमा बसेर पढ्नुपर्थ्यो । एसएलसीमा प्रथम श्रेणी ल्याउने विद्यार्थीलाई फुलमाला लगाएर बजार घुमाइन्थ्यो । पढाइको स्तर यसैबाट अनुमान गर्नुस ।
मैले गरेको तर्कचाहिँ राजदरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार निर्माण नगरौं भन्ने थियो । त्यसपछिका घटनाक्रमले त राजदरबारको ठाउँमा दिल्लीदरबार निर्माण भएको देखियो नि
पछिल्लो समय त्यहाँ फर्र्किएर जानुभएको छ कि छैन ?

केही समय अगाडि दार्चुला गएको थिएँ । आफू पढेको विद्यालयमै पुगेँ । विद्यालयको भौतिक अवस्थामा केही परिवर्तन आएको छ । तर, शैक्षिक स्तरमा भने गुणात्मक परिवर्तन आएको छैन । ३५ वर्षसम्म शैक्षिक गुणस्तर नबढ्नु अति दुखद हो ।

सानो छँदा गायक बन्ने रहर पनि थियो तपाईंमा होइन ?

रहर मात्रै होइन, ठूलै प्यासन थियो । मैले जीवनमा धेरै प्रयास गरेर सफल नभएको काम यही हो । गायक बन्न के मात्र गरिनँ ? जस्तो कि, एउटा साथीले मलाई हरेक बिहान सुख्खा मकै भिजाएर त्यसकाे रस पिउँदा स्वर राम्रो हुन्छ भनिदियो । निकै दिनसम्म त्यही गरेँ । वाक्वाक हुञ्जेल सुख्खा मकैकाे रस पिएँ । तर, स्वर उल्टै बिग्रियो । साथीले मुर्ख बनाएको रहेछ ।

जति अभ्यास गर्दा पनि स्वर नखुलेपछि र सुरमा गाउन नसकेपछि मैले अन्तत हार खाएँ । गायक बन्ने मोहबाट बाहिर निस्केँ ।

पत्रकार बन्ने इच्छा चाहिँ कहिलेबाट, कसरी जाग्यो ?

मैले एसएलसी पास गर्दा मेरी दिदी मस्कोमा पत्रकारिता पढ्दै हुनुहुन्थ्यो । बुवाले मलाई पनि पत्रकारिता पढ्न सल्लाह दिनुभयो । मलाई पनि लेखनमा पहिल्यैदेखि अभिरुची । सबै संयोग मिलेकाले पत्रकारितामा ज्वाइन गरेँ ।

त्यतिबेला नेपालमा पत्रकारिताको खासै स्कोप त थिएन होला ?

थिएन । पत्रिका भनेकै नेपालीमा गोरखापत्र र अंग्रेजीमा राइजिङ नेपाल थिए । केही साप्ताहिक पत्रिकाहरु पनि थिए, विमर्श, जनमञ्च लगायतका । मैले चाहिँ पत्रकारिता र अंग्रेजीमा ब्याचलर गरेर राइजिङ नेपालमा जागिर खान्छु भन्ने सोच बनाएको थिएँ ।

तर, सोचेभन्दा धेरै अगाडि पुग्नुभयो होइन ?

यहाँसम्म पुगिएला भन्ने थिएन । बीबीसीमा जागिर खाने त झन् कल्पनै थिएन ।

बिबिसीमा २० वर्षको यात्रालाई अहिले फर्केर हेर्दा कसरी सम्झिनुहुन्छ ?

म भाग्यमानी थिएँ भन्ने लाग्छ । बीबीसीले मलाई धेरै नाम दियो र केही दाम पनि । साथै मैले व्यवसायिक पत्रकारिता के हो भन्ने जान्न र अनुभव गर्न पाएँ । काम गर्ने कल्चर सिकेँ । दक्षिण एसियाका मिडियामा भन्दा त्यहाँको काम गर्ने शैली धेरै फरक छ । त्यहाँ जागिरको समयमा घाम तापेर बसेको बिरलै देखिन्छ ।

बीबीसीमा छँदा व्यवस्थापनको दबाव कत्ति झेल्नुपर्थ्यो ? नेपालका इस्यूहरुमा माथिबाट ‘लाइन दिने’ काम हुन्थ्यो कि हुन्नथ्यो ?

इमान्दार भएर भन्नुपर्दा त्यस्तो विल्कुलै भएन । हामी आफैंले आफ्ना कार्यक्रम, अन्तरवार्ताहरुको समीक्षा गथ्र्यौं । माथिबाट दबाव कहिल्यै आएन । सम्पादकीय स्वतन्त्रताको पूर्ण उपभोग गरेरै काम गरेको हो ।

गत वर्ष डा. सुरेन्द्र केसीले तपाईंमाथि ‘नेपालबाट भारतमा गाभ्न सकिने विषयमा बीबीसीबाट बहस चलाएको’ भनेर आरोप लगाउनुभएको थियो । तपाईंले केसीको भत्र्सना त गर्नुभयो, तर वास्तविकता बताउनुभएन । बीबीसीले त्यस्तोखालको बहस चलाएकै हो त ?

कुनै आरोपहरु खण्डन गर्न पनि लायक हुँदैनन् । तर, तपाईंले सोधिहाल्नुभयो । खासमा बीबीसी वल्र्ड सर्भिसले एउटा कार्यक्रममा विभिन्न विषयका प्रश्न सोधेर सर्वसाधारणबाट विचारहरु माग्ने गर्थ्यो । सन् २००० तिरको कुरा होला । ‘नेपाल र भारत सामाजिक–सांस्कृतिकरुपमा यति धेरै निकट छन्, यिनीहरुलाई एउटै छाताभित्र राख्दा के होला ?’ भन्ने प्रश्न सोधेर विचार माग गरिएछ ।

यसलाई लिएर नेपालभित्र तत्काल विरोध भएपछि प्रश्नलाई परिमार्जन गरिएको थियो । भएको त्यत्ति हो । म नेपाली सेवामा काम गर्ने भएकाले वल्र्ड सर्भिसमा प्रकाशन/प्रशारण हुने सामग्रीमा मेरो कुनै हात हुने कुरै भएन । तर, यो यस्तो देश हो कि जसले जो माथि जे आरोप लगाइदिए पनि हुन्छ । मानहानीको कानून असाध्यै कमजोर छ । डा. केसीले लगाएको आरोप पुष्टि गर्ने एउटा मसिनो प्रमाण पनि उहाँसित छैन ।

बीबीसीमा धेरै नेताहरुको अन्तरवार्ता लिनुभयो, सबैभन्दा स्मरणीय अन्तरवार्ता कुन छ ?

धेरै छन् । जस्तो कि, जनयुद्धकालमा तत्कालिन माओवादी सुप्रिमो प्रचण्डको पहिलो अडियो अन्तरवार्ता मैले लिएको हुँ । उहाँ भारतमा सेल्टर लिँदा फोनमार्फत सो अन्तरवार्ता लिएको थिएँ । उनीहरुले त्यतिबेला हामीसँग इमेलबाट कम्युनिकेसन गर्थे । इमेलमार्फत नै हामीले अन्तरवार्ताको प्रस्ताव गरेका थियौं र उहाँले स्वीकार्नुभएको थियो ।

त्यसैगरी गिरिजाप्रसाद कोइराला, डा. तुल्सी गिरी, वामदेव गौतम, हृदयश त्रिपाठी लगायतसँग लिएका अन्तरवार्ता पनि सम्झिनलायक छन् । गिरिजाप्रसादसँग चाहिँ अलि बेग्लै अनुभव छ ।

उहाँ त्यति मिडियाफ्रेन्डली नेता होइन । यस्ता नेता अरु पनि छन् । उहाँजस्तो मानिसको अन्तरवार्ता गर्दा सुरुमै कडा प्रश्न राख्न हुँदैन । सुरुमा नरम प्रश्न सोधेर विस्तारै तताउनुपर्छ । नरम प्रश्नहरुको उहाँले जवाफ दिनुभयो, तर जब कडा प्रश्नमा प्रवेश गरेँ, उहाँले ‘अब भयो, भयो’ भनेर ढ्याप्प फोन राखिदिनुभयो । मैले के प्रश्न सोध्न चाहेको थिएँ भनेर मेरा स्रोताहरुलाई जानकारी चाहिँ दिएँ ।

यसैगरी बामदेव गौतम पनि अन्तरवार्ताका क्रममा मसित झोक्किनुभएको छ । त्यो ऋतिक रोशन प्रकरणका बेला थियो । उहाँले ‘तपाईं लण्डनमा बसेर ठूला कुरा नगर्नुस’ भन्ने टाइपले थर्काउनुभएको अहिले पनि याद छ । नाकाबन्दीका बेला भारतीय राजदूत रणजित रेको अन्तरवार्ता पनि निकै चर्चित बनेको थियो ।

तपाईंको अनुभवमा अन्तरवार्तामा तार्किक र व्यवस्थितरुपमा प्रस्तुत हुने नेता चाहिँ को–को हुन् ?

तुलसी गिरी । उहाँको बोल्ने शैली विशिष्ट लाग्थ्यो । तर्क गर्न पनि खप्पिस । अहिलेका युवा नेतामा गगन थापाको शैली राम्रो छ ।

बोल्नै नजान्ने वा अन्तरवार्ता लिनै कठिन हुने नेता ?

अहिले सम्झिन सकिनँ ।

शेरबहादुर देउवासँगको अनुभव कस्तो छ ?

हा…हा… उहाँसित धेरैपटक अन्तरवार्ता गरेको छु । तर, उहाँसँग भाँति पुर्‍याएर बोल्ने ढंग छैन । त्यसैले मिडियासँग प्रायः टाढै बस्नुहुन्छ । जति लामो प्रश्न सोधे पनि एक वाक्यमा जवाफ टुंग्याउनुहुन्छ । अलि कडा प्रश्न सोधे आवेशमा आइहाल्ने स्वभाव पनि छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीचाहिँ कस्तो लाग्छ ?

हाम्रा कैयन नेतालाई पब्लिकमा र प्रेसमा कसरी डिल गर्ने भनेर सिकाउनुपर्ने अवस्था छ । पश्चिममा इमेज मेकर्स हुन्छन्, उनीहरुले नेताहरुलाई कसरी मिडियासँग प्रस्तुत हुने र कसरी प्रश्नहरु ह्यान्डल गर्ने भन्ने सिकाउँछन् । यहाँ त्यस्तो परिपाटी छैन । नेताहरु मुखमा जे आयो त्यही बोलिदिन्छन् । प्रधानमन्त्रीज्यू पनि यही क्याटेगोरीमा पर्नुहुन्छ । प्रधानमन्त्रीजस्तो पदमा रहेको व्यक्तिले बोल्दा निकै होस पुर्‍याउनुपर्ने हो । तर, त्यस्तो देखिँदैन ।

उहाँ उखानटुक्काको प्रयोगमा माहिर हुनुहुन्छ । तर, चिनी पनि त धेरै खायो भने तीतो हुन्छ नि । उहाँको एउटा भिडियो मैले हेरेको थिएँ, जसमा उहाँले विदेशीहरुलाई भन्नुभएको छ कि कोही मानिसले गैंडा देखेको छैन भने उसको आधी जीवन खेर गयो । यस्तो हचुवा टिप्पणी प्रधानमन्त्रीलाई सुहाउँदैन ।

अरुको त झन् के कुरा गर्नु । अस्ति त्यत्रो लगानी सम्मेलन भयो । सम्मेलनमा उद्योगमन्त्री मात्रिका यादवको प्रस्तुति कस्तो थियो, हेरिहाल्नुभयो होला । उद्योग मन्त्रालय भनेको नेपालमा वैदेशिक लगानीकर्ता भित्र्याउनका लागि सबैभन्दा महत्वपूर्ण जिम्मेवारी बोकेको मन्त्रालय हो । तर, उद्योगमन्त्रीको त्यस्तो भाषणले लगानीकर्ता आकर्षित भए कि विकर्षित भए ? अंग्रेजी नजान्नु अपराध होइन, तर नजानेको अंग्रेजी जबरजस्ती बोल्न खोजेर मन्त्रीज्यूले जगहँसाइ गर्नुभयो । र, विदेशीहरुमाझ हाँसोको पात्र बन्नुभयो । यसबाट सबैले पाठ सिक्नुपर्छ ।

तपाईंले पनि अन्तरवार्तामा कहिलेकाहीँ नेताहरुलाई बढी होच्याएर वा डोमिनेट गरेर प्रश्न गरेको प्रतीत हुन्थ्यो नि ? अहिले आफैं नेता भएर सम्झिँदा तपाईंलाई त्यो महसुस हुन्छ कि हुँदैन ?

म कडा प्रश्न गर्थेँ । तर, कहिल्यै अशिष्ट रुपमा पेश भइनँ । अन्तरवार्ताकारले कडा प्रश्न सोध्नु त पर्छ नै । तपाईंलाई एउटा उदाहरण दिन्छु ।

बीबीसीका पत्रकार जेरेमी प्याक्सम्यानले धेरै कडा सोधेको भनेर उनको प्रोग्राम बन्द गरियो । तर, पछि यति धेरै डिमान्ड आयो कि वाध्य भएर फिर्ता ल्याइयो । त्यसैले कडा प्रश्न सोध्नु अनौठो होइन । अर्को कुरा, शैलीमा पनि भर पर्छ । नरमरुपले पनि कडा प्रश्न सोध्न सकिन्छ । मेरो आफ्नो शैली थियो ।

अहिलेका पत्रकार अन्तरवार्तामा अशिष्ट ढंगले पेश हुने प्रवृत्ति कत्तिको पाउनुभएको छ ?

हो, नेपालका कतिपय पत्रकारको शैलीमा समस्या देखिन्छ । १५–२० वर्ष अगाडिसम्म अन्तरवार्ता लिने पत्रकार औंलामा गन्न सकिने मात्रै थिए । अहिले त टेलिभिजन र युट्युवले ह्वार्ह्वार्ती अन्तरवार्ताकार जन्माइरहेका छन् । सिकेर आउनेहरु कम छन् । यद्यपि, कतिपय प्रतिभाशालीहरु पनि छन् । नामचाहिँ नलिउँ ।

पत्रकारिता जीवनमा कुन–कुन नेतासँग व्यक्तिगतरुपमा निकट हुनुभयो ?

उनै ब्रिटिश पत्रकार जेरेमी प्याक्सम्यानले भनेका छन् कि पत्रकार र राजनीतिज्ञको सम्वन्ध कुकुर र बिजुलीको खम्वाजस्तो हुन्छ । म यो भनाइबाट प्रभावित छु । मैले पनि राजनीतिज्ञहरुसँग एक हातको दूरी कायम राखेँ। बढी नजिक हुने बित्तिकै दायित्वहरु सिर्जना हुन्छन् । सबैजसो नेताहरुसँग मेरो सम्वन्ध राम्रै थियो, कसैसँग पनि अत्यधिक निकट भइनँ ।

तपाईं पत्रकारबाट नेता हुनुभयो । अन्तरवार्ता लिनेबाट दिने ठाउँमा आउनुभएको छ । एउटा राजनीतिकर्मीको रुपमा पत्रकारबाट कस्ता प्रश्नको अपेक्षा गर्नुहुन्छ ?

म नरम प्रश्नको अपेक्षा गर्दिनँ । जति प्रश्न कडा भयो, त्यत्तिकै चोटिलो जवाफ दिन सकिन्छ भन्ने लाग्छ ।

तर, कहिलेकाहीँ विभिन्न आरोपहरु लगाइँदा झोंक पनि चल्छ कि ?

झोंक त चल्दैन । तर, एउटै आरोपको बारम्बार प्रष्टिकरण दिनुपर्‍याे  भने दिक्दार हुन्छु । दर्शक/स्रोतालाई पनि दिक्क लाग्दो हो ।

तपाईंमाथि बारम्बार सोधिने प्रश्न वा लगाइने आरोप के हो ?

बीबीसीको ७ लाखको जागिर छोडेको र छोराछोरीलाई विदेशमा राखेको विषयले बढी पछ्याउँछन् ।

हामीले पनि सोध्न चाहेका थियौं, विदेशिएका नेपालीलाई देश फर्काउँछु भनिरहनुभएको छ, आफ्ना छोराछोरीलाई कहिले फर्काउनुहुन्छ ?

प्रश्न नै गलत भयो । तपाईंहले कहिले फर्काउनुहुन्छ भन्नुभयो । म मेरा छोराछोरीमा आफ्नो इच्छा लाद्न सक्दिनँ, जसरी मेरा बुवाआमाले आफ्नो इच्छा मलाई बोकाउनुभएन । मैले बीबीसीको जागिर छाडेर राजनीतिमा आउँछु भन्दा आमा धरधरी रुनुभएको थियो । बुवाले पनि यो चाहनुभएको थिएन । तर, म उहाँहरुको इच्छाविपरीत राजनीतिमा अघि बढेको छु ।

मेरा दुवै छोराछोरी ठूला भइसके । आफ्नो बारेमा आफैं निर्णय गर्न सक्छन् । सानो हुँदासम्म बाबुआमाले बाटो देखाउने हो । उनीहरुसँग बेलायतको नागरिकता लिने अधिकार थियो । त्यो अधिकार खोसेर मैले नेपाल ल्याएको हुँ । पर्मानेन्ट रेजिडेन्सी खारेज गराएँ । त्यतिबेला छोरा ६ क्लासमा र छोरी ३ क्लासमा पढ्दै थिए । नेपाल ल्याएर यतै पढाएँ । अहिले छोरा र छोरी दुवैले विदेशमा राम्रो छात्रवृत्ति पाएका छन् । त्यसैले मैले उनीहरुलाई रोक्नु उचित हुन्थेन । अब फर्किने कुराचाहिँ उनीहरुको निर्णयमा भर पर्छ । जवान छोराछोरीलाई मैले धेरै दबाव दिन सक्दिनँ ।

तपाईंको भित्री चाहनाचाहिँ के छ ? फर्किउन् भन्ने छ कि विदेशमै सेटल होउन् भन्ने छ ?

फर्किउन् भन्न चाहन्छु । यो कुरा मैले उनीहरुलाई भनेको पनि छु । तिमीहरु नफर्किए म एकदम दुखी हुनेछु भनेको छु । नेपालको अवस्था राम्रो भयो भने उनीहरु मैले नफर्क भने पनि फर्किनेछन् । आफ्नो पुस्ताका अरु युवाजस्तै ।

युवाहरुले त विदेशबाट फर्केर पो देश राम्रो बनाउने होइन र ? देश बनेपछि युवाहरु फर्किने कुरा उल्टो भयो कि ?

सबै युवाहरुको सोचाइ एउटै हुँदैन । कोही फर्केर देश बनाउँछु भन्ने खालका होलान् । कोही देश राम्रो भयो भने फर्किन्छु भनेर पर्खिरहेका पनि होलान् ।

अर्को प्रसंगमा जाउँ । ०६२/६३ पछि तपाईंले पत्रिकाहरुमा ‘मनुज चौधरी’ भन्ने छद्मनाम प्रयोग गरेर धेरै लेख लेख्नुभयो । लेखाइमा स्वछन्दताका लागि नाम बदल्नुभएको थियो कि अरु कुनै कारणले ?

त्यतिबेला पत्रिकाहरुमा लेख लेख्ने सवाललाई लिएर बीबीसीमा कडाई थियो । अरुको हकमा केही समस्या पनि आएका थिए । मैले अनुमति लिएर नै लेखेको हुँ । तर, पनि आफ्नै नामले लेख्दा अलिक अप्ठेरो स्थिति आउला कि भनेर पनि हो ।

त्यतिबेला लेखेका लेखहरुमा तपाईंको राजसंस्था र सेनाप्रति झुकाव देखिन्थ्यो । ती विचारहरु अहिले बदलिए कि ठिकै लेखेको थिएँ भन्ने लाग्छ ?

यस्तो हो, राजतन्त्र भनेको ‘मेरो बाजेले घिउ खाएको थियो, नत्र मेरो हात सुँघ’ भनेजस्तो होइन । राजतन्त्रप्रति मेरो अतिरिक्त झुकाव छैन । त्यतिबेला मैले गरेको तर्क चाहिँ राजदरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार निर्माण नगरौं भन्ने थियो । मैले ‘एउटा राजा चित्त बुझेन भन्दैमा राजदरबार भत्काएर विदेशीलाई स्पेस नदिउँ’ भनेर निरन्तर रुपमा लेखेकै हो । जे लेखेँ, ठीक लेखेँ । त्यसपछिका घटनाक्रमले त राजदरबारको ठाउँमा दिल्लीदरबार निर्माण भएको देखियो नि ।

त्यसोभए, अहिले सोच्दा नेपालमा गणतन्त्र ल्याउनुभन्दा राजतन्त्रको निरन्तरता नै उपयुक्त थियो भन्ने लाग्छ ?

जे भए पनि त्यो नेपाली संस्था थियो । भनेको के हो भने, म तपाईंको गाली सहन सक्छु, तर तपाईंको ठाउँमा कुनै विदेशीले गाली गर्दा म धेरै अपमानित महसुस गर्छु । हामी नेपाली झन् ठूलो अपमानबाट गुज्रिनु नपरोस् भन्ने कामना थियो मेरो । मलाई अरु खालको लगाव होइन ।

तपाईंको विचारमा नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता एजेन्डा नेपालीले नै चाहेर आएको को कि बाहिरबाट थोपरिएको ?

देशका आन्तरिक संस्थाहरु जब कमजोर हुन्छन्, स्वार्थलिप्त हुन्छन्, त्यतिबेला बाह्य प्रभाव बढ्न थाल्छ । बाह्य प्रभाव र आन्तरिक स्वार्थहरु जहाँनिर मिल्छन् त्यहीँ बाटो मोडिन्छ । दुरगामी भविष्यका बारेमा सोचिँदैन । हाम्रो देशमा ठूला र दुरगामी निर्णयहरु हचुवामा हुँदै आएका छन् । तत्कालको परिस्थिति सल्टाउन यस्ता निर्णय लिइएको छ ।

जस्तो– अहिले नागरिकता विधयेक नै हेर्नुस । नागरिकताजस्तो संवेदनशील विषयलाई गएको केही दशकमा कतिचोटि गिजोल्यौं ? सर्वोच्चले ३४ हजार नागरिकता खारेज गर भनेको अझै गरेका छैनौं । घरघरमा टोली पठाएर तीनजनाले सिफारिस गरेको भरमा नागरिकता बाँडियो । व्यक्ति–व्यक्तिलाई चित्त बुझाउन ठूला निर्णयहरु भएका छन् ।

अझै प्रष्ट शब्दमा भनिनिुस न, नेपालको राजनीतिक परिवर्तन नेपालीले चाहेर आएको हो कि होइन ?

यस्तो प्रश्नको ‘एस’ र ‘नो’ मा जवाफ नखोज्नुस । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता ल्याउनेहरु नै भन्दैछन्, यो परीक्षणकालमा छ । व्यवस्था ठीक हुनु र नहुनु तपाईं र मेरो आचरणमा पनि भर पर्छ । संसारमा गणतन्त्र भएको देशले प्रगति गरेका छैनन् र ?

अलि विरोधाभाषी कुरा भयो कि तपाईंको ?

म नेपालको भूराजनितिक अवस्थामा गणतन्त्र ठीक छैन भनेर सोझै भन्ने पक्षमा छैन । संघीयता र धर्मनिरपेक्षताका बारेमा पनि यही हो । यदि नेतृत्वको आचरण ठीक हुने हो भने यही संविधानको संरचनाभित्र रहेर समृद्धिमा जान सकिन्छ । यस्तै आचरण देखाइरहने हो भने यी तीनवटै अन्तरवस्तु संकटमा पर्छन् । यदि त्यसो भयो भने एक मात्र विकल्प भनेको जनमत संग्रहमा जाने हो । यदि अहिलेका नेताहरुले परिवर्तनलाई संस्थागत गर्न सकेनन् र यही मुद्दाले सँधै विकासलाई वाधा पुर्‍याइराख्यो भने जनमतसंग्रहमा जानैपर्ने हुन्छ ।

यदि तपाईंले भनेजस्तो अवस्था आएर जनमत संग्रह नै हुनेभयो भने तपाईंको पार्टी कुन कित्तामा उभिन्छ ?

यसको जवाफ म अहिले दिन सक्दिनँ । मेरो जोड त अहिले पनि परिवर्तनलाई संस्थागत गर्नुपर्छ भन्ने नै हो । यदि जनमतसंग्रहमा जाने हो भने पार्टीको ह्वीप लाग्नु हुँदैन । मतदाताले आफ्नो विवेक प्रयोग गर्न पाउनुपर्छ । जस्तो कि बेलायतले यूरोपियन यूनियन छोड्ने कि नछाड्ने भन्ने विषयमा जनमत संग्रह हुँदा एउटै पार्टीका शीर्ष नेता कोही पक्ष र कोही विपक्षमा थिए ।

तपाईंको भाष्य अझै अस्पष्ट लाग्यो । फेरि दोहोर्‍याएर सोध्छु, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता नेपालको सन्दर्भमा ठीक कि बेठीक ? यति महत्वपूर्ण एजेन्डामा त प्रष्टता देखाउनुपर्‍याे नि ।

यी तीनवटै एजेन्डा देशको भविश्यमा दुरगामी असर पार्नेखालका थिए । यदि नेपालमा सुसंस्कृत राजनीति थियो भने जनमतसंग्रह वा रक्तपातपूर्ण क्रान्तिबाट मात्र यी एजेन्डा स्थापित हुन सक्थे । नेपालमा रक्तपातपूर्ण क्रान्ति भएको होइन । त्यसैले जनमतसंग्रहबाट निर्णय लिनुपर्ने थियो । त्यसो भएको भए आज यो मुद्दा बल्झिरहने थिएन ।

भनेपछि जे भयो, गलत भयो ?

म गलत भनिराखेकै छैन । तर, जुन ढंगबाट आयो, प्रक्रियाको बारेमा प्रश्न गर्ने ठाउँ छन् ।

सही पनि त भनिरहनु भएको छैन ?

हामी धेरै अगाडि बढिसक्यौं । निर्वाचनमा यिनै एजेन्डा बोक्ने दलहरुले अत्यधिक मत पाए । अब यी मुद्दाहरु उल्टाउछु भनेर हिँड्नुभयो भने के हुन्छ ? फेरि पनि विकास र समृद्धि ओझेलमा पर्छ । त्यसै हुनाले यसैलाई संस्थागत गरेर जाआंै भन्ने हो ।

तपाईंको भनाइको आशय यी मुुद्दाहरु गलत हुन् तर, अब फाल्न सकिँदैन भन्ने हो ?

अहँ, म गलत भनिराखेको छैन । तपाईंले मलाई जति जोड गरे पनि यो ठीक छैन भनेर जवाफ दिन्न । तर, अहिलेको नेतृत्वले यस्तै स्वार्थी र भ्रष्ट पारा देखाउने हो भने तीनैवटा एजेन्डा संकटमा पर्न सक्छन् । विकास र समृद्धिको बाधक भ्रष्ट, असक्षम र राजकाज नजान्ने नेताहरु हुन्, संविधान होइन । यसमा हामी क्लियर हुनुपर्छ । अहिले त सातवटाबाट ११ प्रदेश हुनुपर्छ भन्ने कुरा आउन थालिसक्यो । के जिन्दगीभर यसैमा अल्झिने त ? विकास र समृद्धि चाहिँदैन ?

ठिक छ, यो बहसलाई अहिले थाती राखौं । व्यक्तिगत प्रसंगमा नै फर्कौं । तपाईंलाई आलोचकहरुले ढोंगी र आडम्बरीजस्ता आरोप पनि लगाउँछन् । एउटा प्रसंग सम्झिनुपर्दा, तपाईंले केही वर्ष अगाडि तिजमा आफ्नी पत्नीको खुट्टा ढोगेको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो । यसलाई धेरैले आडम्बर देखाएको भने । के यसरी फोटो नै सार्वजनिक गर्न आवश्यक थियो ?

हेर्नुस, फेसबुक भनेको तपाईंको निजी पाना पनि हो । यसमा तपाईं इच्छा लागेका कुरा लेख्न सक्नुहुन्छ । मैले श्रीमतीलाई ढोगेको फोटो हाल्दा कसैलाई ढोंगी लागेको हुन सक्छ । तर, मलाई चाहिँ कुनै अपराध गरेको जस्तो लाग्दैन ।

एउटा समयमा मलाई के महसुस भयो भने यो कस्तो समाज हो, जहाँ बिहानदेखि बेलुकासम्म घरधन्दामा खटिने श्रीमती, केटाकेटी हुर्काउनुपर्ने श्रीमतीले अनि श्रीमतीले नै श्रीमानको खुट्टा ढोगेको पानी खानुपर्ने । श्रीमानले किन ढोग्न नहुने ? कतिपय छोरीहरु बुवाआमाको किरिया बस्न थालेका छन् । फोटोहरु मिडियामा आउँछन् । त्यो ढोंग गरेको हो त ?

मेरो सन्दर्भमा कुरा गर्दा पनि श्रीमतीले निरन्तर भार बोकिरहेकी छिन् । यदि उनले मलाई साथ नदिएको भए बीबीसी छोडेर राजनीतिमा आउन सक्ने नै थिइनँ । कुन श्रीमतीले श्रीमानलाई आफ्नो छँदाखाँदाको जागिर छोडेर राजनीतिको हिलोमा पस्न अनुमति दिन्छिन् ? त्यसैले म उनीप्रति ऋणी छु । यही आदरभावले पनि ढोगेको हुँ । सन्देश पनि दिन खोजेको हुँ । कसैले ढाेंगी भन्नुहुन्छ भने ठिकै छ ।

श्रीमान र श्रीमतीबीचको कुरा त नितान्त निजी हुन्छ होला नि ? मन लाग्नेले ढोग्लान् नलाग्नेले ढोग्दैनन् । यसमा फोटो सार्वजनिक गरेर सन्देश दिइरहनुपर्ने के छ ?

भनिहालेँ नि । कसैलाई आफ्ना निजी कुराहरु फेसबुकमा राख्न मन पर्दैन । कोही श्रीमतीको तस्वीर पनि फेसबुकमा हाल्दैनन् । यो व्यक्तिगत इच्छाको कुरा हो । यसमा आक्रोशित वा प्रतिक्रियात्मक हुनुपर्ने आवश्यकता नै छैन । यो मेरा लागि गम्भीर विषय होइन ।

भाउजू तिजमा व्रत बस्नुहुन्छ कि बस्नुहुन्न ?

म त खाउ भन्छु । तर, उनी मान्दिनन् । तैपनि व्रत बस्दा स्वास्थ्यको ख्याल गर भन्छु । पानीसमेत नखाई व्रत बस्नेचाहिँ गर्दिनन् ।

बीबीसीको जागिर छोडेपछि तपाईंको घर कसरी चलिरहेको छ ? आयश्रोत के हो ?

जब मैले बीबीसी छोडेर राजनीति गर्ने निर्णय लिएँ, सबैभन्दा पहिले आफ्नो आर्थिक व्यवस्थापन गरेँ । किनकि राजनीतिबाट पैसा कमाउने होइन भन्नेमा म प्रष्ट थिएँ । अहिले तपाईं र म कोलोनीको यो घरमा बसेका छौं । मैले बनाएको अर्काे घर भैंसेपाटीमै छ । त्यो भाडामा लगाएको छु । त्यही नै मेरो गुजारा गर्ने स्रोत हो । बीबीसीको जागिरबाट जोगाएको पैसा र बौद्धमा भएको आफ्नो भागको पैत्रिक सम्पत्ति बेचेर यी दुई घर जोडेको हुँ । अलिअलि ऋण पनि लिएको छु । राजनीति गरेर पैसा कमाउनुपर्ने परिरिस्थित मलाई छैन ।

राजनीतिमा आएपछि परोपकार चाहिँ छोड्नुभयो होइन ?

वास्तवमा परोपकार गर्दागर्दै म राजनीतिमा आउन प्रेरित भएको हुँ । हामीले हेल्प नेपाल नेटवर्कमार्फत पैसा संकलन गरेर १० वर्षमा ४० वटा कक्षा कोठा र पुस्तकालय बनायौं । धुलिखेलमा बाल आश्रम र मुगुमा हेल्थपोष्ट छ । मलाई के महसुस भयो भने १०–१२ वर्षमा ४० वटा कक्षा कोठा र पुस्तकालय बनाएर देश कहिले बदल्ने ? नेपालमा २९ हजार सरकारी विद्यालयमा लाइब्रेरी छैन । शैक्षिक स्तर न्यून छ । सरकारी स्कुलबाट ७० प्रतिशतले कमजोर नतिजा ल्याउँछन् । गाउँहरुगरिबीले ग्रस्त छन् । कर्णालीमा मान्छे बस्ने घरहरु भग्नावशेषजस्ता लाग्छन् । यी यावत समस्या एउटा परोपकारी संस्थामार्फत समाधान गर्न सकिन्न । सिंगो देश बदल्न राजनीतिबाट मात्रै सम्भव छ । यस्तो सोचेर म राजनीतिमा होमिएको हुँ ।
विकास र समृद्धिको बाधक भ्रष्ट, असक्षम र राजकाज नजान्ने नेताहरु हुन्, संविधान होइन । यसमा हामी क्लियर हुनुपर्छ

राजनीतिमा आइसकेपछि म हेल्प नेपालबाट अलग्गिएको छु । साथीहरुले हेरिरहनु भएको छ । किनकि दोहोरो भूमिका निभाउँदा जटिलताहरु आउन सक्छन् । तर, परोपकार मेरो रगतमा छ । म राजनीतिलाई नै परोपकारी बनाउन चाहन्छु ।

राजनीतिमा दुई वर्षको अनुभव भयो । सोचजस्तो भइरहेको छ कि छैन ?

म राजनीतिका सम्पूर्ण जटिलता मनन गरेरै यसमा होमिएको हुँ । कत्ति पनि निराश छैन । परोपकारी गतिविधिमा व्यापक जनसहयोग प्राप्त हुन्थ्यो । राजनीतिमा त्यो गाह्रो छ । अन्तत्वोगत्वा लोकतन्त्रमा निर्णायक भनेका मतदाता हुन् । जनतालाई यसरी राजनीतिको रंग लगाइदिएका छन् कि वकिलदेखि वन उपभोक्ता समितिसम्म पार्टीगत आधारमा विभाजित छन् । कति ठूलो अपराध भएको छ कुरा गरेरै साध्य छैन ।

पत्रकारिताबाट राजनीतिमा आएपछि तपाईंलाई समाजले गर्ने सम्मान बढेको महसुस गर्नुभएको छ कि घटेको ?

धेरैले मेरो हिम्मतको सह्राना गर्नुभएको छ र शुभेच्छा दिनुभएको छ । कतिपयले चाहिँ निरन्तर आक्रमण पनि गरिरहेका छन् । भोलि यिनीहरु साँच्चै शक्तिशाली भए भने हामीलाई नोक्सानी पुर्‍याउन सक्छन् भनेर अहिल्यै विभिन्न ढंगबाट खेद्ने काम भइरहेका छन् । अनि, राजनीति गर्ने सबैलाई एउटै ड्याङका मुला देख्नेहरु पनि उत्तिकै छन् ।

आखिर एउटै ड्याङ्का मुला त देखिनुभयो नि । दुई पार्टी मिल्दा सबैले आशा गरेका थिए । तर, आन्तरिक झगडाले गर्दा एक वर्षमै फुट्नुभयो । के फरक भयो अरु र तपाईंहरुमा ?

नेपालको पार्टी र संगठन भनेको नेपाली समाजको धरातलबाट पर गएर हुन सक्दैन । समाजको चरित्र पार्टी वा संगठनको निर्माणमा पनि प्रतिबिम्बित हुन्छ । त्यसैले हाम्रो पार्टीमा समस्या आयो । यो अनपेक्षित होइन । केही साथीहरु जानुभयो । त्यसैले यिनीहरु नयाँ भनेको उस्तै रहेछन् भन्ने खालको मनोभाव भयो होला । तर, यसले हामीलाई संगठनात्मकरुपमा ठूलो असर परेको छैन । धेरै साथीहरु लगभग सबै हामीसँग हुनुहुन्छ ।

तर, नेतृत्व नै दुई फ्याक भएको होइन र ?

केन्द्रमा भएका साथीहरु मात्रै जानुभएको हो । आमरुपमा बाहिर रहेका साथीहरु हामीसँगै हुनुहुन्छ । जहाँसुकै पनि ठूलो संगठन निर्माण गर्दा जटिलता आउँछ । अझै पनि हामी मिलेरै जानुपर्छ भन्ने मेरो आग्रह छ ।

भन्नाले फेरि पनि विवेकशीलसँग एकताको पक्षमा हुनुहुन्छ ?

फेरि एक हुन नसकिने कारणै केही छैन । हामी सबै नवराजनीतिकर्मी हौं । पुराना त दशचोटि फुट्छन् जुट्छन् । हामी त सिक्दै थियौं । हामी दुवै पक्षको नियत ठिक थियो, काम गराइमा मात्र अन्तराल हो ।

सिद्धान्त र विचार एउटै भए पनि जुंगाको लडाइँंले फुट्नुभयो होइन ?

त्योभन्दा पनि कार्यशैलीको अन्तराल भयो भन्नुस । अझै पनि हामीले विगतबाट शिक्षा लिएर मिलेर अगाडि बढ्न असम्भव छैन ।

पार्टीमा रहँदा उज्ववल थापासँग तपाईंको लामो समय बोलचालै थिएन रे । अहिले कस्तो छ ? भेटघाट हुन्छ कि हुँदैन ?

बोलचालै नभएको त होइन । कतिपय कुरा जटिल हुँदै जाँदा संवाद गर्न कठिन भएको चाहिँ हो । अहिले कार्यक्रमहरुमा आक्कल झुक्कल भेट हुन्छ । सामान्य कुराकानी हुन्छ ।

विभाजनपछि धेरै युवा र उर्जावान नेताहरु गुमाउनुभयो, उनीहरुलाई कत्तिको मिस गर्नुहुन्छ ?

उहाँहरुलाई मिस नगर्ने त होइन । तर, हामीसँग पनि युवाहरु टन्नै हुनुहुन्छ । नेतृत्वदेखि तलसम्मै युवाहरु हुनुहुन्छ । कुनै पनि भेलामा आउनुभयो भने ८० प्रतिशतभन्दा बढी युवा देख्नुहुनेछ ।

रञ्जु दर्शनाजस्ता युवा नेताहरुसँग सहकार्य गर्दाको अनुभव कस्तो रह्यो ? उनीहरुको क्षमता हेर्दा कति माथिसम्म जान सक्लान् ?

उहाँहरुमा उर्जा छ । केही गरौं भन्ने भावना प्रबल छ । अब त्यसलाई कति प्रमाणित गर्नुहुन्छ भन्नेमा भर पर्छ । बोलीले भन्दा पनि आफूलाई कामले प्रमाणित गर्नुपर्ने हुन्छ । उहाँहरुको भविष्यका विषयमा अहिले अनुमान गर्न एकदमै गाह्रो छ ।

कमजोरी के देख्नुभयो उनीहरुको ?

म यो विषयमा धेरै जान चाहन्न । कमजोरी सबैमा हुन्छ । हामीमा पनि छ, उहाँहरुमा पनि छन् ।

तपाईं सामाजिक सञ्जालमा पनि निकै सक्रिय हुनुहुन्छ । कतिपय सन्दर्भमा सामाजिक सञ्जालमा व्यक्त हुने मत र अभिमतले तपाईंलाई लतारिरहेको पनि पाइन्छ । के हामीले सही भन्यौं भनेँ ?

अहिलेको जमानामा सामाजिक सञ्जालको शक्तिलाई तपाईं नजरअन्दाज गर्नै सक्नुहुन्न । नेपालको दुर्गम ग्रामीण भेगमा समेत फेसबुक र ट्विटर चलाउँछन् । सामाजिक सञ्जालले जनमतको प्रष्फुटन गर्छ । तर, त्यसो भनेर म सामाजिक सञ्जालबाटै बहकिने मान्छे चाहिँ होइन । यसले प्रभाव त पार्छ तर एउटा सीमासम्म मात्र ।

देश परिवर्तन गर्ने भन्नुभएको छ, पक्कै पनि प्रधानमन्त्री बन्नेसम्मको योजना होला ? त्यसका लागि कहिलेसम्मको टाइमलाइन बनाउनुभएको छ ?

प्रधानमन्त्री नै भन्ने शब्द प्रयोग नगरौं । यो देशको नेतृत्वमा हाम्रो पार्टी छिट्टै पुग्छ भनेर विश्वस्त छु ।

 

तपाईंको प्रतिकृयाहरू